अहिलेको विभेद जानाजान भइरहेको छ – प्रज्वलन सी

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज प्रज्वलन सी.ले समाजमा विद्यमान अहिलेको विभेद जानाजान भइरहेको बताएका छन् । श्रमिक समुदाय मोर्चा नेपाल पूर्वी लुम्बिनी ब्युरोको प्रथम पूर्ण बैठकमा प्रमुख अतिथिको रुपमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

सामन्तवादमा विभेद अन्जानमा गरिन्थ्यो तर अहिले विभेद जानाजान गरिदैं आएको कुरा उनले स्पष्ट पारे । गणतन्त्रसम्म आइपुग्दा उत्पीडित समुदायको अधिकार पूर्ण नभएको उनले बताएका छन् । पूर्ण अधिकार प्राप्तिका निम्ति अन्तिम क्रान्तिका निम्ति जुट्न समेत उनले सबैलाई आव्हान गरेका छन् । उत्पीडित वर्ग, समुदायको महत्त्व र अस्तित्व क्रान्तिको समयमा उच्च हुने कुरा समेत उनले स्पष्ट पारेका छन् ।

बैठकका विशेष अतिथि मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल सी. ले मोर्चाको केन्द्रीय योजनाको बारेमा सबिस्तार बताएका छन् । उनले जिल्ला स्तरमा भइरहेका विभेद विरुद्ध सशक्त संघर्ष गर्नका निम्ति सबैलाई आग्रह गरेका छन् । त्यसैगरी नेकपा केन्द्रीय प्रतिनिधि सदस्य तथा रुपन्देही जिल्ला सेक्रेटरी बिरेन्द्र सी., मोर्चा केन्द्रीय कोषाध्यक्ष जानकी सी. र मोर्चा सूचना – प्रकाशन विभाग प्रमुख निशान सी. ले बैठकमा प्रशिक्षण मन्तव्य राखेका थिए ।

मोर्चाले प्रत्येक जिल्लामा उत्पादनको काम अनिवार्य गर्ने बैठकमा निर्णय गरिएको छ । विभेद विरुद्ध सशक्त संघर्ष गर्ने, अपमानजनक नाम/थर सच्याउन तीव्र पहल गर्ने, स्थानीय स्तरमा दलित/श्रमिक समुदायका निम्ति राज्यद्वारा छुट्याइएको सेवा-सुविधाको सोध-खोज गर्ने निर्णय पनि बैठकले गरेको छ ।

संगठन बिस्तार गर्ने, श्रमिक समुदाय र सी जातिबारे व्यापक छलफल, अन्तरक्रिया र बहस गर्ने लगायत निर्णय बैठकले गरेको छ । बैठक मोर्चाका पूर्वी लुम्बिनी ब्युरो संयोजक सरिता सी.को अध्यक्षतामा सम्पन्न भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation