संसदीय व्यवस्था उत्पीडित वर्ग, समुदायको पक्षमा छैन – डिल्ली सी

सुनसरी । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय प्रतिनिधि सदस्य तथा केन्द्रीय स्कुलिङ्ग विभाग सदस्य डिल्ली सी.ले वर्तमान संसदीय व्यवस्था उत्पीडित वर्ग – समुदायको पक्षमा नभएको बताएका छन् । ५८औं अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसको अवसरमा इटहरीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

दिवसको अवसरमा मंगलबार “जातमा आधारित विभेद उन्मूलनको प्रश्न” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको प्रदेश १ का संयोजक आशिष लिम्बुले जात व्यवस्था हटाएर वैज्ञानिक समाजवाद स्थापना गर्न सके मात्रै उत्पीडित समुदायको मुक्ति हुने कुरा कार्यक्रममा स्पष्ट पारेका छन् ।

कार्यक्रम इटहरीको पाथिभरा होटलको कार्यक्रम हलमा आयोजना गरिएको हो । कार्यक्रममा नेकपा सुनसरी जिल्ला सेक्रेटरी सुरेश सी.ले आधारपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा शान्ति गजमेर, पृथ्वी सी लगायतले धारणा राखेका थिए ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका सुनसरी सचिव सुरज राईले कार्यक्रमलाई सहजीकरण गरेका थिए ।   पार्टीका सुनसरी संयोजक पहलमान शिवले कार्यक्रमको समापन गरेका थिए । जातिभेद दिवसको अवसरमा तीन कम्युनिस्ट पार्टी निकट दलित / श्रमिक समुदाय मोर्चाहरुले सातवटै प्रदेशको विभिन्न सहरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation