लघुवित्त र मिटर ब्याजीलाई नेकपा इटहरीले दियो चेतावनी

सुनसरी । नेपाल कम्युनिस्ट पार्टी, इटहरी नगर कमिटीले लघुवित्त र मिटर ब्याजीलाई जनकारबाही गर्ने चेतावनी दिएको छ । संगठन बिस्तार तथा जनसम्बन्ध सुदृढ अभियानको उद्घाटन गर्दै कमिटीले सो चेतावनी दिएको हो । इटहरी उपमहानगरपालिका वडा नम्बर १२ खनार भन्ने स्थानमा अभियानको उद्घाटन गरिएको छ ।

उद्घाटनका प्रमुख अतिथि नेकपा सुनसरी जिल्ला इन्चार्ज विवश सी. ले दलाल संसदीय व्यवस्थाको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । अढाई सय वर्ष सत्तामा मोजमस्ती गरेर देशलाई वर्वाद बनाएको राजतन्त्रका अवशेषहरुले अहिले राप्रपा र दुर्गा प्रसाइलाई हतियारको रुपमा प्रयोग गरेर टाउको उठाउन खोजेको उनले जिकिर गरेका छन् । वैज्ञानिक समाजवादी व्यवस्थाले मात्रै देश र जनताको मुक्ति हुने समेत उनके स्पष्ट पारेका छन् ।

त्यसैगरी नेकपा सुनसरी जिल्ला सेक्रेटरी सुरेश सी. ले स्थानीय स्तरमा भइरहेका अन्याय र ज्यादतीका विरुद्ध एकजुट हुन सबैलाई आग्रह गरेका छन् । अखिल नेपाल महिला संघ क्रान्तिकारी सुनसरी जिल्ला अध्यक्ष परिता सी. ले अभियान सफलताको शुभकामना दिएका छन् ।

कार्यक्रमका अध्यक्ष नगर सेक्रेटरी जीवन सी. ले स्थानीयस्तरमा भइरहेको वित्तीय संस्था र मिटर ब्याजीको आतंकको सूचना आफ्नो पार्टीलाई दिनका निम्ति सबैलाई आग्रह गरेका छन् । वित्तीय संस्थाहरुको ज्यादतीका विरुद्ध एकजुट भएर संघर्षमा उत्रन समेत उनले सबैलाई आग्रह गरेका छन् । लागूऔषध र दूर्व्यशन विरुद्ध सबैले हातेमालो गर्नुपर्ने उनले स्पष्ट पारेका छन् ।

कार्यक्रमलाई मजदुर संगठनका जिल्ला संयोजक इश्वर सी. ले सञ्चालन गरेका थिए । कार्यक्रममा स्थानीय सयौं जनसमुदायको उपस्थिति रहेको थियो । अभियानको समापन असारको दोस्रो हप्ता गरिने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation