मार्क्सवादमा जातीय संघर्षको इतिहास थप्नुपर्ने- विप्लव सी

काठमाण्डौ । मार्क्सवादमा वर्ग संघर्षसंगै जातीय संघर्षको इतिहास पनि थप्नुपर्ने नेकपा महासचिव विप्लव सी. ले बताएका छन् । श्रमिक समुदाय मोर्चा नेपालले काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा विप्लवले सो कुरा बताएका हुन् ।

मोर्चाले मंगलबार नेपाल  प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गरेको ‘सी जातिको अवधारणा’ विषयक विचार गोष्ठीमा जातीय समस्याको हल गर्नका निम्ति नेकपाले ‘सी’ जातिको अवधारणा अगाडि सारेको कुरा उनले स्पष्ट पारेका छन् । मानव समाजको मुक्तिका निम्ति सबै जातिको अन्तरघुलन आवश्यक पर्ने कुरामा उनले जोड दिएका छन ।

“नेपाली समाजमा विद्यमान जात व्यवस्थाको समाधानका लागि नेपाल कम्युनिस्ट पार्टीद्वारा प्रस्तुत ‘सी’ जातिको अवधारणा भनेको क्रान्ति, निकास, नयाँ सुरुवात र एउटा उन्नत सभ्यता निर्माणको अभियान भएको, भारत बर्षको पछिल्ला ४ हजार बर्षको इतिहास जातीय संघर्षको इतिहास हो, यहाँ वर्गसंघर्षको इतिहासको कुरा गरेर मात्रै इतिहास अपुर्ण रहन्छ , भारतवर्षमा विभिन्न जातिबिच संघर्षहरु हुँदै आएका छन्, त्यसैले यसलाई निकास र हल दिन जरुरी छ”, उनले थप स्पष्ट पारे ।

कार्यक्रममा नेकपा स्थायी समिति सदस्य सन्तोष सी.ले जातिको विलोपीकरणका लागि विद्यमान जात प्रथालाई अन्त्य गर्दै जाने प्रक्रिया लगायत एकीकृत जनक्रान्ति मार्फत आफ्नो पार्टीले सबै कुरा उठान गर्दै अघि बढेको कुरा बताए ।

पुर्व राजदुत डा. निर्मल कुमार विश्वकर्माले नेपालको ५ हजार वर्षको इतिहासमा उक्त कार्यक्रम निकै महत्त्वपूर्ण भएको भन्दै खुसी व्यक्त गरेका छन् । दक्षिण एसियाको सन्दर्भमा वर्गले जात विभाजन नगरी जातले वर्ग विभाजन गरेको कुरामा उनको जिकिर छ ।

दर्शन – सामाजिक शास्त्र एवम् शिक्षा संकाय विभागका डिन, तथा खुला विश्व विद्यालयका सह – प्राध्यापक  डा. खगेन्द्र प्रसाईले पहिचान बचाउनु भनेको यथास्थिति हो । पुँजीवादले आफ्नो संकट टार्न ७० को दशक देखि अनेक कुरा प्रयोग गर्दै आएको छ जसमध्ये पहिचानको राजनीतिलाई पनि उसले प्रयोग गर्दै आएको कुरामा उनले जोड दिएका छन् । पहिचानको राजनीतिले समाजको अर्थ राजनीतिक र वर्गीय विश्लेषणबाट मान्छेलाई विमुख पार्दै ल्याएको र समाजको मुख्य समस्या नै पहिचान हो भन्ने भ्रम सृजना गरेको कुरा उनले बताएका छन् ।

कार्यक्रममा मोर्चाका अध्यक्ष रामलाल सी. ले ६ पृष्ठको अवधारणा पत्र प्रस्तुत गरेका छन् । लेखक तथा विश्लेषकहरु तुलानारायण साह, कमला हेम्चुरी, सहप्राध्यापक अब्दुल सलाम खान, सह प्राध्यापक डा. श्यामु थापा मगर लगायतले सी. जातिको अवधारणा अगाडि ल्याइनु निकै प्रशंसनीय कार्य भएको कुरा बताए ।

त्यसैगरि नेकपा (माओवादी केन्द्र) निकट समाज विकास केन्द्रका सदस्य बसन्त बागचन, अधिवक्ता चक्रपाणी बिक, संघीय दलित मञ्चका संयोजक शर्मिला बागचन लगायतले ‘सी’ जाति नेकपाले मात्रै प्रयोग नगरेर आम जनतामा लैजानुपर्ने बताए । कार्यक्रम मोर्चाका सचिवालय सदस्य निशान सी. को सञ्चालन, सचिवालय सदस्य विक्रम सी. को स्वागत मन्तव्य र मोर्चाका अध्यक्ष रामलाल सी. को अध्यक्षतामा सम्पन्न भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation