हरेक क्षेत्रमा श्रमिक समुदायको स्थान सुरक्षित हुनुपर्ने – विकल्प सी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी तामसालिङ ब्युरो इन्चार्ज विकल्प सी. ले राज्यको हरेक क्षेत्रमा श्रमिक समुदायको स्थान सुरक्षित हुनुपर्ने बताउनु भएको छ । मुक्तिका लागि राजनीतिक, आर्थिक, संवैधानिक लगायत राज्यको सबै क्षेत्रमा श्रमिक समुदायको स्थान सुरक्षित गर्नुपर्ने र त्यसका निम्ति संघर्ष अपरिहार्य भएको कुरामा उहाँले जोड दिनुभएको छ ।

नेकपाको श्रमिक विभागले आज काभ्रेको धुलिखेलमा आयोजना गरेको एक कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । “परिवर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायित्व” विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले  देश अहिले चैतको पराल जस्तो अवस्थामा रहेको समेत बताउनु भएको छ ।

चैतको परालमा आगलागीको अति खतरा रहेको हुँदा देशलाई त्यस दुर्घटनाबाट जोगाउनका निम्ति नेकपाले संघर्ष गरिरहेको कुरा पनि उहाँले बताउनु भयो । नेकपाले अघि सारेको एकीकृत जनक्रान्तिलाई साथ दिनका निम्ति सबै वर्ग, समुदायलाई उहाँले आग्रह समेत गर्नुभएको छ ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज बिन्दु सी, तामाङ मुक्ति मोर्चा, नेपालका केन्द्रीय संयोजक प्रेरक सी, नेकपा – काभ्रे जिल्ला सेक्रेटरी सुरेन्द्र सी, सिन्धुपाल्चोक सेक्रेटरी युगिन सी, अनेम संघ क्रान्तिकारी – पूर्वी तामसालिङ ब्युरो संयोजक पवित्रा सी लगायतले सबै जाती, वर्गको मुक्तिका निम्ति व्यवस्था बदल्नु पर्ने कुरामा जोड दिनुभएको छ ।

कार्यक्रममा काभ्रे, सिन्धुपाल्चोक, दोलखा जिल्लाबाट स्थानीय श्रमिक समुदायहरुको सहभागी रहेको थियो । कार्यक्रममा विभागका सदस्य डिल्ली सी.ले स्वागत मन्तव्य राख्दै अवधारणा पत्र प्रस्तुत गर्नु भयो । विभागका सदस्य सञ्जीव सी.को सञ्चालन र विभागका इन्चार्ज सन्ध्या सी. को अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation