पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गर्नु नै क्रान्ति – विप्लव सी


काठमाण्डौ । पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गर्नु नै क्रान्ति भएको कुरा नेकपा महासचिव विप्लव सी.ले बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा काठमाण्डौंको खुला मञ्चमा आयोजित जनसभालाई सम्बोधन गर्दै विप्लवले सो कुरा बताउनु भएको हो ।

कम्युनिस्ट पार्टीले नै जनताको सत्ता स्थापना गर्न सक्छ भन्ने निष्कर्ष सहित पुस्पलालले कांग्रेस छोडर कम्युनिस्ट पार्टी स्थापना गर्नु भएको कुरा उहाँले बताउनु भएको छ । ४ जना संस्थापकहरुले ज्यानलाई हत्केलामा राखेर कम्युनिस्ट पार्टीको स्थापना गरेको बताउनु भएको छ ।

‘पुस्पलाल श्रेष्ठ, नरबहादुर कर्मचार्य, निरन्जन गोविन्द वैद्य र नारायण विलास जोशीले ज्यानको प्रवाह नगरेर कम्युनिस्ट पार्टी स्थापना गरेको उहाँले भन्नुभयो । सोही अवसरमा बोल्दै उहाँले आफ्नो पार्टीले पुष्पलालको सपना साकार पार्नका निम्ति फरक तरिकाले सोंचेको बताउनु भयो । त्यसका निम्ति नेकपा छलफल र बहस गर्न खुला रहेको पनि बताउनुभयो ।

जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व माओवादी नेता एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिक्रान्ति छाइरहेका बेला मरुभूमिमा हरियो विरुवा उमार्न खोजे जस्तै क्रान्तिको विरुवा हुर्काउन निरन्तर कोसिस गरेकोमा विप्लवलाई धन्यवाद दिनु भएको छ ।

नेकपा (समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनमा विप्लवले नयाँ काम गर्न खोजेकोमा आभार प्रकट गर्नुभएको छ । अहिले कम्युनिस्ट एकताको आवश्यकता भएकोले समीक्षा गर्दै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा नेपालले जोड दिनुभएको छ । कम्युनिस्ट पार्टी अगाडि नलागेसम्म परिवर्तन सम्भव नहुने समेत उहाँले बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्ण बहादुर महराले क्रान्तिको नेतृत्व नेकपाले मात्रै गर्न सक्ने बताउनु भएको छ । कम्युनिस्टहरु एकजुट हुनुको विकल्प नभएको समेत उहाँले बताउनुभयो ।

आजै पार्टी एकता गर्नुभएका नेता कर्णजीत बुढाथोकी सुशीलले सबै एकजुट हुनुहोस् भन्ने जनताको सल्लाह अनुसार आफूले जस्तै सबैले पार्टी एकता गर्नुपर्ने बताउनु भएको छ । जनताको सुझाव आत्मसात नगर्ने पार्टीहरु राजनीतिक रुपमा डाइनोसर हुने समेत उहाँले बताउनु भयो ।

वेपत्ता परिवार समाज नेपाल का अध्यक्ष एकराज भण्डारीले संसदीय संविधान र व्यवस्था प्रति जनता वाक्क भएको बताउनु भएको छ । त्यसैगरी नेकपा मसाल प्रवक्ता राम प्रकाश पुरी सत्ता स्वार्थका कारण नेपालको कम्युनिस्ट पार्टीहरु सबैभन्दा फुट्ने गरेको बताउनु भएको छ । कार्यक्रम नेकपा प्रवक्ता प्रकाण्ड सी. को सञ्चालनमा सम्पन्न भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation