अपमानजनक थर सच्याउन माग

श्रमिक समुदाय मोर्चा नेपाल, गण्डकी प्रदेश समन्वय समितिले आज कास्की प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा दलित/श्रमिक समुदायका अपमानजनक थरहरु कानुनले व्यवस्था गरेअनुसार सच्याउन माग गरिएको छ ।

प्रदेश संयोजक कुमार परियारद्वारा हस्ताक्षरित ज्ञापनपत्र बुझाउने क्रममा मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल विश्वकर्मा, केन्द्रीय सचिव उमेश सिके, जिल्ला संयोजक अमृत परियार, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य सोममाया विश्वकर्मा लगायतको सहभागिता रहेको छ ।

ज्ञापनपत्रको पूर्णपाठ यसप्रकार रहेको छ :

श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यू,
जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा ।
विषय ज्ञापन पत्र सम्बन्धमा ।

महोदय,
नेपालको कुल जनसंख्याको करिव पाँचौं हिस्सामा रहेका उत्पीडित श्रमिक समुदाय नेपाली समाजमा आज पर्यन्त शोषण, उत्पीडन तथा विभेदमा रहेका छन् । राजनीतिक, आर्थिक र सांस्कृतिक रूपमा राज्यद्वारा नै हजारौं वर्ष देखि पछाडि पारिएका यस समुदायको समग्र मुक्ति हुन अझै बाँकि छ । हाम्रो मोर्चा यस समुदायको समग्र मुक्तिको दिशामा संघर्षरत रहँदै आएको छ ।

• संवैधानिक तथा कानुनी उपचार एवं पूर्ण समानूपातिक प्रतिनिधित्वका लागि राज्यव्यवस्थामा आमूल परिवर्तन, यस समुदायको आर्थिक हैसियतमा विकास, यस समुदायका व्यक्तिहरूको चौतर्फी नेतृत्व निर्माण र वैज्ञानिक विचार – संस्कृति निर्माणका लागि जागरण अभियान सञ्चालन गर्नु यस समुदायको मुक्तिका लागि गर्नै पर्ने प्रमुख कामहरू हुन् ।

यो समुदाय माथिको विभेद एवं छुवाछूत, मानव जातिको उत्पत्तिको शुरुवातमा अस्तित्वमा नरहेको र पछि शासकहरूको ‘फुटाउ र शासन गर’ भन्ने नीति अन्तर्गत निर्माण गरिएको जगजाहेर छ । यो समुदायलाई कथित तल्लो जातमा परिणत गर्न वा अपमानित गर्न अपनाइएका विविध तरिका मध्य अमिल्दो र अपमानजनक थर’ एक हो ।

विगतमा यो समुदायका मानिसहरूलाई उनीहरूको आफ्नो जातिगत थर लेख्न नदिएर अपमानजनक थरहरू लेख्न बाध्य पारिदै आइएको सर्वविदितै छ । यस सन्दर्भमा नेपाल सरकार, राष्ट्रिय दलित आयोगले थर सूचिकरण गरेको छ। गृह मन्त्रालयले थर सच्याउन आएमा सच्याउन सहयोग गर्ने भन्ने परिपत्र जारी गरेको छ । साथै सुदूर पश्चिम क्षेत्रको हकमा सर्वोच्च अदालतले थर सच्याउने बारे एउटा आदेश जारी गरेको छ ।

यावत सबै तथ्यको आधारमा यस समुदायका व्यक्तिहरूको इच्छा अनुसार उनीहरूको थर सच्याउन सहयोग गर्ने निर्णय अनुसार हाम्रो मोर्चाले थर सच्याउने अभियान अघि बढाएको छ । तसर्थ, व्यक्तिको पुरानो नागरिकतामा रहेको अपमानजनक र अमिल्दो थर सच्याई आफ्नो जातिगत थर राखेर नागरिकता बनाउन र नयाँ नागरिकता बनाउँदा पनि सोही अनुसार गर्न गराउन सहयोग गरिदिन हुन हामी प्रमुख जिल्ला अधिकारी ज्यूलाई हार्दिक अनुरोध गर्दछौं ।
धन्यवाद !

मिति: २०७९/०३/१७

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation