समसामयिक विषयमा मोर्चाको संयुक्त प्रेस विज्ञप्ती

काठमाण्डौ । कोशी प्रदेश खारेज लगायत समसामयिक विषयमा विभिन्न राजनीतिक पार्टी निकटका श्रमिक / दलित समुदाय मोर्चाहरुले आज संयुक्त प्रेस विज्ञप्ती जारी गरेका छन् । विभिन्न ६ वटा मोर्चाले विज्ञप्ती मार्फत विद्यमान समस्याहरु समाधान गर्न माग गरेका हुन् ।

विज्ञप्तीमा पहिचान र सामर्थ्यको आधारमा १ नम्बर प्रदेशको नामाकरण गर्न माग गरिएको छ ।कोशी प्रदेश नामाकरणको विरुद्धमा विभिन्न दल र संघ – संस्थाले गरेको आन्दोलनमाथि राज्यले गरेको फासीवादी दमन, हत्या र हिंसा बन्द गर्न माग गरिएको छ । समस्याको समाधानका निम्ति वार्ता र सहमतिको बाटो अवलम्बन गर्न आव्हान गरिएको छ । आन्दोलनको क्रममा घाइते भई उपचारको क्रममा निधन भएका पदम लिम्बु (लाजेहाङ) लाई सहिद घोषणा गर्न, गिरफ्तारहरुको विनासर्त रिहाइ गर्न र घाइतेहरुको निःशुल्क उपचार गर्न मोर्चाले राज्यसँग विशेष माग गरेको छ ।

विज्ञप्तीमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका देशहरुमा मानव तस्करी गर्ने हर्कतमा नेपाल सरकारको नेतृत्व गर्दै आएका दलका नेताहरु, पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्री तथा उच्च पदस्थ कर्मचारीहरु संलग्न भएको कुरालाई गम्भीर राष्ट्रघात, जनघात र देशद्रोह भनी ठहर गरिएको छ । आर्थिक लाभका निम्ति आफ्नै देशको नागरिकलाई भुटानी शरणार्थी बनाएर मानव तस्करी गर्ने काममा सरकार नै संलग्न भएको नेपालको इतिहासमा आजसम्मकै लज्जास्पद परिघटना ठहर गरिएको छ । उक्त कार्यमा संलग्नलाई  कडा कार्वाही सरकारसँग माग गरिएको छ ।

त्यसैगरी मिटरव्याज शोषण र लघुवित्त संस्थाहरुको चर्को ब्याजको मारमा परेका श्रमिक दलित समुदाय तथा तल्लो वर्गको किसान र मजदुर पीडितहरुको जायज मागहरु यथाशिघ्र सम्बोधन गर्न पनि विज्ञप्तीमा माग गरिएको छ ।

कैलाली जिल्ला गोदावरी न.पा. वडा नं. ३ मालाखेती मालिका टोलका विगत ४०/४५ वर्षदेखि बसोवास गर्दै आईरहेका भुमिहिन बादी, दमाई, सार्की, लुहार, वि.क. लगायतका विपन्न तथा निमुखा श्रमिक / दलित समुदाय माथि पूर्व जानकारी विना दलाल व्यवस्थाका स्थानिय तहका जनप्रतिनिधि र वनका कर्मचारीहरुले मनोमानी बल प्रयोग मार्फत बस्ती उजाड गरी घरवार विहिन बनाएको अन्यायपूर्ण घटना प्रति विज्ञप्तीमार्फत भत्सर्ना गरिएको छ ।

नेपाल दलित मुक्ति मोर्चाका सचिवालय सदस्य राम नेपाली, श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल सी, जात व्यवस्था उन्मूलन मोर्चा नेपालका संयोजक राजकुमार हिङमाङ, राष्ट्रिय दलित मुक्ति मोर्चा, नेपालका संयोजक, दर्शन कुमार नेपाली, नेपाल राष्ट्रिय दलित केन्द्रका अध्यक्ष उपेन्द्र छटुन्जेल, संघिय दलित मुक्ति प्रान्तीय मञ्चका अध्यक्ष शर्मिला बागचन्दद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्ती जारी गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation