नेपाल कम्युनिष्ट पार्टीको स्थापनापछि प्रकाशित पहिलो पर्चा

नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता !

अत: क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाउ !!

एकातिर नागरिक अधिकार लिई छोड्छौ भन्ने नारा बुलन्द गर्ने सयौं भाईहरु राणाको जेलमा सडिरहेका छन् , अर्कोतिर धेरै दिनदेखि कुरेको विधान २००६ सालको शुरुमा राणा सरकारले घोषणा गर्‍यो ।  नागरिक स्वतन्त्रताको विषयमा ऐन-कानुन, नियमावली जारी भयो । यो घोषणा हाम्रा ती वीर शहीदहरुको स्मृतिमा  ठूलो अपमानको कुरा हो । जसले आफ्ना दाजुभाइ दिदीबहिनीहरुले लेख्ने , बोल्ने, पढ्ने, सभा संगठन  गर्ने स्वतन्त्रता पाउनेछन भनी हाँसीहाँसी  दुश्मनको गोलि  छातीमा थापेका थिए, हाँसीहाँसी  फाँसीको तख्तामा झुलेका थिए । फेरि यो घोषणा नेपालका ती सपुतहरुको निम्ति ठूलो अपमानको कुरा हो जो सभा गठन गर्न नदिनेको ऐनलाई लत्याएर जेल परेका छन् । साथै यो घोषणामा नेपाली नर-नारीका निम्ति एउटा हाँक हो, जसले राणा शासनको अगाडि घुँडा टेक्नु भन्दा अनेक किसिमका यातना सहनु, देश निकालिनु इत्यादिलाई श्रेष्ठ ठानिरहेका छौं । अतएव हामी प्रत्येक नेपाली नरनारीले यो घोषणापत्रलाई लत्याई ‘कोतपर्व’ होइन क्रान्तिकारी तरिकाले राणाशाहीको तख्ता उलट्नेछौं भनी क्रान्तिकारी प्रतिज्ञा गर्नुपर्दछ ।

राणाको घोषणा खोस्टा हो कि गुदी हो भन्ने कुरा यही घोषणाबाट छर्लङ्ग हुन्छ । घोषणामा भनिएको छ –  राणाशाहीको हुकुम प्रमाङ्गीबिना कुनै किसिमको सभा संगठन अथवा प्रदर्शन गर्ने अधिकार नेपाली जनतालाई दिएको छैन । राणाशाहीका कर्मचारीहरु (नोकरशाही) ले जुनसुकै समयमा पमि हस्तक्षेप गर्न सक्छन्, चाहे त्यो सभा भर्खरै शुरू भएको हो अथवा आधा लम्किरहेको होस् ।

राणाशाहीको स्वीकृतिबिना क्लब, मजदुर सभा (ट्रेड युनियन), किसान सभा इत्यादि कुनै किसिमको संगठन पनि खोल्ने अधिकार यस  घोषणापत्रले अस्वीकार गरेको छ । यसकारण यस घोषणा-पत्रको वास्तविक मतलब राणा समर्थकहरुले राणाशाहीका कुकर्महरुको समर्थन गरि पर्दा राखी जनताको विरोधमा खडा हुने, संगठन हुने र बोल्ने अधिकार पनि पाएका छन् ।

हुँदाहुँदा यस घोषणा सामाजिक सेवा गर्ने अधिकार सम्म पनि अधिकार दिएको छैन । यसैबाट राणाशाहीको समाजद्रोही काम जाहेर हुन्छ । औषधिमूलोको पसल, संघ इत्यादि खोल्नेलाई पनि नानावलीका शर्तहरू यस घोषणा-पत्रले राखेको छ । राणाशाहीको चीले आँखा यस्ताहरुबाट पनि ओझेल भएको छैन । यस्तो तिन न तेह्रको नागरिक स्वतन्त्रता संसारको कुनै भागमा पनि देख्न, सुन्न मुस्किल छ ।

राणाहरुलाई भने यिनीहरूको मालिक तथा प्रभु आंग्ल-अमेरिकन ‘साम्राज्यवादीहरुलाई जतिपटक चाहियो उतीपटक भेट्ने स्वतन्त्रता छ । नेपाली जनतालाई संयुक्त तरिकाले शोषण गर्नका निम्ति भारतीय धन-कुवेर टाटा बिडला, सिंहानिया, गोयन्का चमरियाहरुलाई राणाहरू इच्छा मुताबिक भेट्न सक्छन्  । करोडौं भारतीय जनताको रगत चुसी यिनीहरूले पोको पारेको थैली रक्षा गर्नको निम्ति हाम्रा अशिक्षित तर बहादुर भाइहरुलाई भारत पठाउनको लागि राणाहरु नेहरुलाई भेट्न सक्छन् । तर हामी नेपालका श्रमिक जनता नेपालका छोराछोरी आपसमा भेटघाट गरी राणा शाहीको यो बढ्दो शोषणलाई खतम गर्ने बाटो र भोक, बेकारी, चोरबजारको दासत्वलाई खतम गर्ने उपाय निकाल्ने अधिकार छैन् । हामीले राणाशाहीको त्यस कुकार्यको विरोधमा खडा हुने, बोल्ने सङ्गठित हुने अधिकार पनि पाएका छैनौं, जुन मुताविक नेपाली जनताको अनुमति विना नै नेपाललाई विश्वयुद्धको बीउ छर्ने अमेरिकन साम्राज्यवादीहरुको र नेहरु आविष्कारित नव- साम्राज्यवादीहरुको हातमा सोभियत युनियन, नव प्रजातन्त्र रुस, आजाद चीन र समस्त एसियाको स्वतन्त्रता आन्दोलनको विरुद्ध यौटा फौजी अखडा कायम गर्नको निम्ति नेपाललाई बेचेको छ ।

वास्तवमा राणा शाही नागरिक स्वतन्त्रता देखि यस्तरी काँपेका किन ?

किनभने राणाहरुलाई यस कुराको पूर्णरुपले ज्ञान छ कि द्वितीय विश्वयुद्धको फलस्वरुप समाजवादी संसारको मान, प्रतिष्ठा र घेरा बढ्दै गएको छ । र नेपाल यस संसारबाट कसै पनि अलग रहने छैन । यस नयाँ संसार (समाजवादी संसार) को हावा नेपालमा अति प्रबल रुपले चलेको छ भन्ने राणालाई पूर्ण रुपले बोध छ । हामीहरुले प्रजातन्त्रीय अधिकारका धेरै लडाइँहरुमा हिस्सा लिएका छौं, प्रजातन्त्रीय अधिकारको निम्ती लडेका छौं र यस दौरानमा (बीचमा) राणाशाहीको विश्वासघाती नीतिको भण्डाफोर गरेका छौं ।

किनभने हामीले बोल्ने अधिकार पाएको खण्डमा राणाशाहीका पाखण्डी र अति निर्दयी शोषणको, जसमा जमिन्दार, साहुकार, पूँजीपतिहरुको पनि हिस्सा छ, विरोधमा शानदार शब्द गुञ्जयमान गर्नेछौं भन्ने कुरा राणाशाहीलाई पूर्णरुपले थाहा छ । हामीले बोल्ने अधिकार पाएको खण्डमा हाम्रा नेपाली भाइहरुलाई साम्राज्यवादीहरुले मलाया, हिन्दुस्तान, पाकिस्तान र दक्षिण-पूर्व एसियाका मुलुकहरुमा आज बन्दुकको जुन चारो बनाइराखेका छन् त्यसको विरोध गर्नेछौं

किनभने राणाहरु यो कुरा राम्ररी बुझ्दछन् कि यदि हामीले सङ्गठित हुने अधिकार पायौं भने हामीहरुले मजदुर, किसान, विद्यार्थी, तरुण र नेपालका सम्पूर्ण प्रजातन्त्रीय-मनधारी नरनारीहरुलाई सङ्गठित गर्नेछौं र सामन्ती र साम्राज्यवादी डाँकाहरुले नेपालको धनजनमा गरिरहेको शोषणलाई बन्द गर्नेछौं । नेपालको श्रमिक वर्गलाई सङ्गठित गरी हाम्रो जनधनको मालिक हामी हुनेछौं, हाम्रो प्यारो मातृभूमिका तैनाथ हामी गर्नेछौं, न कि सामन्ती साम्राज्यवादी डाँकाहरु । यी सबै कुराहरु राणाहरुका गिदीमा तस्वीर छ, यसकारण नागरिक स्वतन्त्रताको नामैले उनीहरू काँप्दछन, थाप्लो रिगाउँदछ र मुटु ढुकढुकाउँछ ।  यदि नागरिक स्वतन्त्रताको नामैले हाम्रो दुश्मनको मुटु कँपाए कँपाओस्, मुटुको चालै बन्द भए होस्  तर क्रान्तिकारी नेपालीले निम्नलिखित युद्धनाद फुक्नैपर्दछ ।

– मजदुरलाई आफ्नो रोटी र तलब बढाउन र महंगी भत्ता बढाउनको निम्ति लड्नुपर्छ यसकारण ऊ नागरिक स्वतन्त्रता चाहान्छ ।
– किसानलाई आफ्नो भोक हटाउन, आफ्नो बालीनाली (फसल)को भाउ बढाउन, ज्याला बढाउन (अँधियामा उचित भाग पाउन) त जमीनका हरकको निम्ति लड्न पर्दछ । कारण किसानहर नागरिक स्व विद्यार्थीलाई बिना पिस अथवा कम फिसमा उच्च दर्जाको प्राक्षा पर्दा नागरिक स्वतन्त्र नारी (महिलालाई आफ्नो दोहोरो दासत्वको विरोधमा लड्नुपर्छ । यसकारण किसानहरु नागरिक स्वतन्त्रता चाहन्छन् ।
– विद्यार्थीलाई बिना फिस अथवा कम फिसमा उच्च दर्जाको शिक्षा पाउन सङ्घर्ष गर्नुपर्दछ । यसकारण ऊ नागरिक स्वतन्त्रता चाहन्छ ।
– नारी (महिला)लाई आफ्नो दोहोरो दासत्वको विरोधमा लड्नुपर्छ । यसकारण नारीहरु नागरिक स्वतन्त्रता चाहन्छन् ।
यसकारण सबै जनता एक भै नागरिक स्वतन्त्रताका लागि शानदार युद्ध लड्नुपर्दछ । यो युद्ध लड्दा विश्वासघाती समाजवादीहरुको नेतृत्वमा चल्ने र अरु सबै कांग्रेसी नेताहरूको मेलमिलाप बाटो त्यागी अविराम युद्धनीति अपनाउनु पर्दछ । यी समाजवादी लगामे (भारतीय समाजवादी कठपुतली)  कांग्रेसी नेताहरु  राणाहरुका मात्र विश्वासपात्र र दलाल होइनन्  अपितु टाटा, बिडला र नेहरुका पनि हुन् । यी समाजवादी लगामी काँग्रेसी नेताहरू नेपाललाई त्यस नेहरू सरकारको फौजमा भर्ति अड्डा मात्र गराउन चाहन्छन् जुन नेहरु सरकारले भारतमा समेत नर-हत्या गरिरहेको छ जुन नेहरु सरकारले हाम्रा नेपाली भाइहरुलाई मलायामा लैजान सुविधा अंग्रेजलाई दिएको छ ।

किनभने उनीहरू आफ्नो प्रभु नेहरुलाई खुसी तुल्याई आशीर्वाद प्राप्त गर्ने ताकमा छन् । यसकारण उनीहरले श्रमिक वर्गको अगुवा दस्ता रेल्वे मजदुरको रोटी लडाइँका विरुद्ध नेहरु सरकारको नादिरशाही नीतिलाई समर्थन गरी आफूलाई विश्व मजदुर वर्गका विरोधी साबित गरे । जो अरु मुलुकका जनताको पक्ष लिदैनन् विरोधमा जान्छन्  उनीहरू आफ्नो देशका जनताको पक्ष लिन सक्दैनन, विरोधमा नै जान्छन्, गई नै रहेका छन् । उनीहरुको सत्याग्रहको धम्की राणासँग मेलमिलाप गर्ने नीति मात्र हो । जनताको बढ्दो अशान्तिको ज्वालाको डर देखाई राणालाई मेल गर्न दवाब दिने नीति मात्र हो । आजसम्मका उनीहरूको कार्यमा राणाशाहीका अगाडि उनीहरूले मुन्टो निहुराएका छन् र मेलमिलापको निम्ति दवाव दिनु सिवाय अरु कुनै बाटो देखाएका छैन । अतएव नेपाली जनताले ‘यस्ता राणासँगको नीति’ को भण्डाफोर गर्दै अगाडि बढनुपर्दछ । यी  जनतासँग हात मिलाउने सुरमा छैनन् , राणाको लात चाट्ने  ताकमा छन् – खबरदार !!

नेपाली जनताको नागरिक स्वतन्त्रताको लडाइँ एउटा क्रान्तिकारी लडाइँ हो । यसकारण यो लडाइँ अहिंसात्मकसम्म मात्र सीमित हुनुहुँदैन । हरेक टोल, हरेक शहर, हो गाउँ हरेक जिल्ला, हरेक स्कूल र कलेज, हरेक कलकारखानाहरूमा नागरिक स्वतन्त्रताको क्रान्तिकारी समिति बनाऊ । राणाशाहीको जनविरोधी नीतिको खुल्लमखुल्ला बहिष्कार गर । यी समितिहरुद्वारा मजदुर, किसान र अरु श्रमजीवीहरको माग उठाऊ । नागरिक स्वतन्त्रताका लागि क्रान्तिकारी समितिहरुले भासिएर (अण्डरग्राउण्ड) काम गर्ने तरीकाहरु र पुलिस हमला गर्ने चालहरु एवम् एक क्रान्तिकारी जनताको मागलाई – जसलाई समाजवादी लगामे र अरु काँग्रेसी नेताहरूले आँखामा छारो हालिराखेका छन् : दुश्मनको विरुद्ध लडाइँमा एकतावद्ध गर्ने उपायहरू पनि राम्ररी सम्झनु – बुझ्नु पर्दछ । नेपालमा जति संगठन छन् ती सबैलाई क्रान्तिकारी लाल भण्डाको मुनिको सामेल गराउनु पर्दछ । वास्तवमा नेपालका समस्त प्रजातान्त्रीय शक्तिहरुलाई एकताबद्ध गर्ने क्षमता क्रान्तिकारी समितिहरुमा हुनुपर्दछ, जो राणाशाहीलाई ध्वंस गरेर पनि अविराम गतिले समाजवादी क्रान्तितिर लम्कोस् ।

राणाशाही वास्तवमा त्यतिको बलियो छैन जतिको देख्दा बलियो जस्तो भान पर्दछ । राणाशाहीसँग जनतालाई दबाउने ताकत छन् । अतएव जनतालाई दबाउनको निम्ति राणाशाहीले आंग्ल-अमेरिकन साम्राज्यवादी नेहरु सरकारबाट बल प्राप्त गर्दछ, जो कि आफसेआफ बढ्दो क्रान्तिकारी भेलको अगाडि लड्खराइरहेका छन् । यसरी एकातिर प्रतिक्रियावादीहरू हरेक देशको क्रान्तिलाई रोक्ने ताकमा छन् अर्कोतिर समस्त विश्वका प्रजातन्त्रीय शक्तिहरू सोभियत युनियनको नेतृत्वमा प्रतिक्रियावादीहरुलाई हाँक दिँदै अगाडि बढिरहेका छन् । प्रतिक्रियावादीहरुले प्रत्येक जालसाजीलाई चक्नाचुर पार्दैन् । लाखौं अर्बौ डलर (अमेरिकी मुद्रा) ले पनि चिनी जनतालाई अमेरिक डाँकाहरुले च्याङ्काइ-सेकमार्फत आफ्नो मुट्ठीमा राख्न सकेनन् । चिनी जनता कम्युनिष्ट पार्टीको नेतृत्वमा नै विजयी साबित भए । चीनमा क्रान्तिकारी जनताको विजय हुँदैछ ।  यही कान्ति हाम्रो देशको संघारमा आइपुगेको छ । बर्मा, मलाया, इण्डोचाइना, इण्डोनेशिया भारतवर्षको मुटु तेलांगनामा समेत क्रान्तिको ज्वाला उठिसकेको छ । क्रान्तिकारी जनताको राज छ ऐन, कानून लागु छ । यी क्रान्तिकारी जनताहरू पाइला पाइला चाली हातमा हात मिलाई कम्युनिष्ट पार्टीको नेतृत्वमा अगाडि बढीरहेका छन् । अरु त कुरै छाडौं एटम बलले पनि क्रान्तिकारी जनतालाई रोक्न सक्दैन ।

नेपालका छोराछोरी हो !!

तिमीहरू पनि त्यस रणक्षेत्रमा उत्रिसकेका छौं। तिमीहरूले पनि आफूमा लुकेको साहस र वीरत्व वैरी-विरोधी संग्राममा देखाइ सकेका छौ । राणाशाहीले तिम्रो छातीमा सोझाएका बन्दुकको मोहरी त्यतै फर्काउने कोशिस तिमीले गर्नुछ । राणाको घोषणालाई कुरकुच्चाले कुच्याई एक स्वरले क्रान्तिकारी आवाजको गर्जना गर !

– पूर्ण नागरिक स्वतन्त्रताको लडाई – जिन्दाबाद !
– लेख्ने, बोल्ने, पढ्ने, सभा संगठन गर्ने अधिकार जिन्दावाद !
– नेपाली मजदुरको तलब वा ज्याला बढाउने लडाइँ -जिन्दाबाद!
– नेपालका किसानको ‘फसल’ भाउ बढाऊ, ज्याला बढाऊ उचित ! अंढिया बालीको’ लडाइँ – जिन्दावाद !
– एउटा नेपाली भाइ पनि साम्राज्यवादी लडाइँको चारा बन्न दिने छैनौं । चाहे मलाया होस् , चाहे हिन्दुस्तान, वीर नेपाली भाइ हो ! तिम्रा हातमा भएको बन्दुकले साम्राज्यवादी डाँकाको सीना ताक,  प्रत्येक देशको गरीब भाइ मजदुर किसानसँग गला मिलाऊ !
–  सोभियत युनियन, नव प्रजातन्त्र, आजाद चीन, विश्व मजदुर वर्गको आन्दोलन र विश्वको कम्युनिष्ट आन्दोलनसंग हाम्रो एकता – जिन्दावाद !
– नागरिक स्वतन्त्रताका लागि क्रान्तिकारी समितिहरू – जिन्दावाद ।।
याद गर
क्रान्तिको समयमा शोषक वर्ग क्रान्ति रोक्न धेरै चालबाजी गर्दछ । नेपालमा यही चालबाजी हुन लागेको छ । राणा शब्दमा झनै जनतामा घृणा छ । यसको प्रत्यक्ष प्रमाण नेपाल प्रजातन्त्र काँग्रेस छ । यसको सञ्चालक निष्काशित राणाहरू हुन् । यसका मुख्य कार्यकर्ताहरुले राणाको हुकुम बजाई जनतालाई मनग्गे शोषण गरेका छन् । उदाहरण भक्तमान सिंह, गोवरधन मास्के इत्यादि । यसकारण भूलमा परेका र आफ्नो उल्लू सिधा गर्न चाहने कार्यकर्ताहरु राजीनामा दिंदैछन् । यस्तो काँग्रेसलाई दलाल बनाउँदा तुरुन्त काम फतह नहुने हुनाले भारतीय धनी वर्गका नेता नेहरु अर्कैलाई दलाल बनाउने ताकमा छन् । नेहरुलाई भारतमा क्रान्ति विरोधी कार्यका मुख्य आड सोसलिष्ट जय प्रकाश र लोहिया जस्ता देशद्रोही व्यक्तिहरु भैरहेको हुनाले नेपालमा पनि उनैका चेला चापटीलाई (ने.रा. कांग्रेस कोइराला दल समाजवादी लगामे) । नेहरुले आफ्नो दलाल बनाउने निश्चय गरेको बुझिन्छ ।

समस्त दक्षिण पूर्व एसियामा झैँ नेपालमा पनि क्रान्तिको लहर चलिरहेको छ । नेहरू साम्राज्यवादीहरू र राणाहरुलाई यसको राम्रो बोध छ । यस निम्ति नेहरूले क्रान्तिको विरोधमा रुस र आजाद चीनको विरोधमा नेपालमा साम्राज्यवादीहरुको फौजी अड्डा कायम गर्न सुविधा दिए । कांग्रेसीहरु पनि यो कुरा राम्ररी जान्दछन् । यसकारण क्रान्तिको नेतृत्व गर्ने कम्युनिष्ट पार्टी नेपालमा देखा नपर्दै यी कॉग्रेसीहरु तँछाड मछाड गर्दै कम्युनिष्टको डर देखाई राणासँग सम्झौता गर्न अगाडि बढे । यो सबै कुरा जनतालाई थाहा छ । विश्वेश्वर कोइरालाले काठमाडौंमा गई प्रधानमन्त्री मोहनलाई यही व्यहोराको बिन्तीपत्र चढाए । यस्तासँग एकदम सावधान! याद गर सामन्तवादी समाज र शासन व्यवस्था नेपालमा रहेसम्म एकाध वकुला भगते नेताहरू नेपालको शासनमा छानिएर जनताको दुःख र कष्ट कम हुँदैन । यो त क्रान्तिकारी जनतालाई भूलमा पार्ने तरिका मात्र हो । अतयवः हाम्रो नारा हुनुपर्दछ :
राणासँग सम्झौता होइन क्रान्ति! क्रान्ति!! क्रान्ति!!!
सामन्तवादी शासन व्यवस्थालाई चकनाचुर गर!
विदेशी साम्राज्यवाद र भारतीय पूँजीवादको घेरा र प्रभावदेखि अलग होऊ!
मजदुर किसानको शासन खडा गर!
यस शासनमा धनी, साम्राज्यावादी प्रतिक्रियावादीहरूका दलालहरु बाहेक सबै शोषित जनतालाई हिस्सा देऊ!
सोवियत रूस, दक्षिण पूर्व युरोपका नव-प्रजातन्त्रहरु र आजाद चीनसँग राजनैतिक सम्बन्ध खडा गर !
समाजवादको लक्ष्य राखी शासन चलाऊ !

यसैलाई नव प्रजातन्त्र (New Dernocracy) भन्दछन् । दक्षिणपूर्वी युरोप र आजाद चीनमा यस्तै शासन छ। हामीलाई पनि यही गर्नुछ ।
अतएव :

नव प्रजातन्त्र जिन्दावाद !
नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद !!

संगठक समिति
२००६ वैशाख १२
नेपाल कम्युनिष्ट पार्टी
पहाड पर्वत खोला नाला जगा जमीन सबको !

मालिक हामी दास बनौं किन हिस्सा सबमा सबको !!

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation