वैदेशिक हस्तक्षेप रोक्नका लागि एकता आवश्यक

सुनसरी । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी. ले वैदेशिक हस्तक्षेप रोक्नका लागि एकता र मोर्चाबन्दी आवश्यक रहेको बताउनु भएको छ । धरानमा आयोजित पार्टीको राजनैतिक प्रशिक्षणका क्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

नेपालका कम्युनिस्ट र प्रगतिशील शक्तिहरुबीच एकता गरेर मात्रै अमेरिकी हस्तक्षेपका विरुद्ध लड्न सकिने धारणा उहाँले राख्नुभयो । अमेरिकाले नेपालको उत्तरी ७ वटा जिल्लामा क्याम्प राख्नका लागि औपचारिक प्रस्ताव राख्न खोजेकोले एकता र संघर्षको विकल्प नरहेको उहाँले बताउनुभयो ।

दलाल बनेका नेताहरू देउवा, केपी, प्रचण्ड भन्दा साम्राज्यवाद अहिलेको मुख्य समस्या रहेको कुरा उहाँले स्पष्ट पार्नुभयो । वैदेशिक हस्तक्षेपको अन्त्यका लागि समाजवाद स्थापना गर्नुपर्ने र त्यसका लागि समाजवादी मोर्चा बनाउन आवश्यक रहेकोले त्यसतर्फ प्रयत्न गरिरहेको समेत उहाँले बताउनुभयो ।

कार्यक्रमका अतिथि नेकपा पोलिट ब्युरो सदस्य सुमन सी. ले २१औं सताब्दीमा दास युगमा जस्तै मानव तस्कर नेपालमा चल्नु निकै लाजमर्दो कुरा हो भन्नुभयो । सहरमा वित्तीय संस्थाको किस्ता तिर्न नसकेर आत्महत्या गर्नुपर्ने, महिलाहरुले यौन व्यवसाय गर्न बाध्य हुनुपर्ने अवस्था आएकोले त्यसका विरुद्ध पार्टी सशक्त तरिकाले लड्नुपर्ने समेत उहाँले बताउनुभयो ।

कार्यक्रमका सञ्चालक मेची ब्युरो इन्चार्ज  सुमनसिंह सी. ले पार्टी नेता – कार्यकर्ताले असाधारण काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सगरमाथा ब्युरो इन्चार्ज शैलेश सी. ले नेकपाले दलाल संसदीय व्यवस्था खारेज गरी वैज्ञानिक समाजवाद स्थापनाका लागि एकता र मोर्चाबन्दीलाई तीव्रतामा अगाडि बढाइरहेको बताउनुभयो ।

सल्लाहकार समितिका सदस्य होम सी. ले मोहनचन्द्र अधिकारी गेरु वस्त्र लगाएर सकिएको र प्रचण्डले पनि सोही बाटो अपनाएको बताउनुभयो । कार्यक्रममा प्रतिबन्ध कालदेखि जेलमा रहेर रिहा भइ आएका उदयपुरका पूर्व इन्चार्ज बाबुराम सी र जिल्ला सदस्य नन्द सी. लाई कार्यक्रममा सम्मान गरिएको थियो ।

पूर्वी नेपालमा अवस्थित नेकपाको ४ वटा संयुक्त ब्युरोको राजनैतिक प्रशिक्षण कार्यक्रम धरानमा आयोजना गरिएको हो । उत्तर मेची – कोशी ब्युरो इन्चार्ज देव सी. ले कार्यक्रममा सहभागीलाई स्वागत गर्नुभयो । कोशी ब्युरो इन्चार्ज दिपेश सी. को अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation