समाज रुपान्तरणका लागि समाजवादी मोर्चा चाहिएको हो – विप्लव

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले समाज रुपान्तरणका लागि समाजवादी मोर्चा चाहिएको बताउनु भएको छ । “नेपाल अहिले निकै ठुलो आर्थिक, राजनीति संकटबाट गुज्रिरहेको र अमेरिकी साम्राज्यवादद्वारा नेपालको स्वाधीनता माथि खतरा मडारिएकोले यस्तो अवस्थाबाट देशलाई मुक्त गर्दै जनताको अपेक्षा पुरा गर्न समाजवादी मोर्चा आवश्यक परेको हो”, उहाँले बताउनु भयो ।

        पार्टीको नवौं केन्द्रिय समितिको चौथो पूर्ण बैठकमा केन्द्रिय सदस्यहरुको सुझाव र जिज्ञासामाथि प्रस्ट पार्दै महासचिव विप्लवले यस्तो धारणा राख्नु भएको हो । “अमेरिका एमसीसी मार्फत नेपालमा आइसकेको छ, उसको मुख्य उदेश्य चीनलाई घेराबन्दी गर्ने भएपनि नेपालको भुमि प्रयोग गर्ने कुरा हाम्रा लागि निकै पीडादायी र खतरापूर्ण हुनेछ । देशमा २००७ साल देखिका जनताका सपना, आन्दोलनका अपेक्षा र कम्युनिस्ट पार्टीका आर्थिक- सामाजिक रुपान्तरण सम्बन्धी कार्यक्रमहरु कार्यान्वयन हुन सकेनन् , विद्यमान दलाल पुँजीवादी व्यवस्था अन्तर्गत त्यो संभव पनि छैन त्यसका लागि नेपालका कम्युनिस्ट , समाजवादी र माओवादीको सहकार्य र एकताद्वारा नेपाली समाजको रुपान्तरण संभव हुनेछ”, विप्लवले स्पष्ट पार्नुभयो ।

केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उहाँले कम्युनिस्ट पार्टी आफैमा क्रान्तिको साधन भएकोले यसले आफै भित्र हुर्केर आएका खराबीसङ्ग संघर्ष गर्दै निरन्तर अनुसन्धान, प्रयोग र संश्लेशण गर्दै संघर्ष गर्नुपर्ने बताउनुभयो ।

नेपालको अर्थतन्त्रको स्थिति र चरित्र परनिर्भर, आयातित र विदेशी दलालहरुको नियन्त्रणमा गएको र देशको अर्थतन्त्रको ६० प्रतिशत हिस्सा अहिले पनि भारतीय एकाधिकार पुँजीपतिको नियन्त्रण रहेकोले देशलाई यो परिस्थितिबाट समेत मुक्त गर्न जरुरी रहेको उहाँको भनाइ छ ।

नेकपाले पछिल्लो समयमा समाजवादी मोर्चाको कार्यनीति लिएपछिको स्थिति र पार्टीभित्र कार्यनीतिहरुको प्रयोग, विकास र अभ्यासबारे उत्पन्न जिज्ञासामाथि थप प्रष्ट पार्दै उहाँले कार्यनीतिबारे माओको भनाइलाई उद्धृत गर्दै भन्नुभयो, “क्रान्तिकारी आन्दोलनका लागि कार्यनीति भनेको रणनीतिको आत्मा हो, यो दैनिक जीवनसङ्ग जोडिएको हुन्छ, कार्यकर्ताहरुबिच अलि बढी बहस हुने बिषय पनि कार्यनीति नै हो ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation