इन्डियाले प्रतिबन्ध गरेको ‘टिष्टा काङ्गडा’ को भिडियो सार्वजनिक

काठमाडौं । इन्डियाले प्रतिबन्ध गरेको बहुचर्चित देशभक्त गीत ‘टिष्टा काङ्गडा’..को म्युजिक भिडियो सार्वजनिक भएको छ । जनवादी तथा व्यवसायिक गायक सौगात सायरको स्वरमा रहेको उक्त गीतको भिडियो शुक्रबार सार्वजनिक भएको हो । पछिल्लो समय टिकटक लगायत सामाजिक सञ्जालमा उक्त समसामयिक गीत भाइरल भइरहेको छ ।

असमान सुगौली सन्धिका कारण नेपालले ठूलो भूभाग गुमाउनु परेको हुँदा त्यसका विरुद्ध जागरुक हुन गीतमा सबैलाई आव्हान गरिएको छ । नेपाली नेताहरू विदेशीसामु बिक्ने र विश्वास गर्ने किसिमका नभएका कारण स्वाधीनताका लागि युवाहरू उठ्नुपर्ने कुरा गीतमार्फत सन्देश दिईएको छ । देशका लागि जुट्नुपर्छ भनेर अभियान चलाउने व्यक्ति सुरुमा एक्लो हुने भएपनि अन्त्यमा सबैले साथ दिन्छन् भन्ने आशय पनि भिडियोमा समेटिएको छ ।

इन्डियाले कब्जा गरेको ग्रेटर नेपालको भूभाग फिर्ता हुनुपर्ने, नेपालीप्रतिको इन्डियाको ज्यादती र हेपाहा प्रवृति अन्त्य हुनुपर्ने लगायत माग समेत गीतमा गरिएको छ । पूर्खाहरु जस्तै हामी पनि देशको लागि लड्न तयार हुनुपर्ने भाव गीतमा समावेश गरिएको छ । करिब २ वर्ष अगाडि अडियो सार्वजनिक भएको उक्त गीतको शब्द थमन केसीले संकलन गरेका हुन् । सारथी युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा मुख्य अभिनय सौगात सायरको रहेको छ ।

त्यसैगरी भिडियोमा धर्मराज भण्डारी, सुदिप पाण्डे, सन्तोष शर्मा, एनबी निशान, पुष्प अर्याल, सगुन शर्मा, पवित्रा गन्धर्व, अर्जुन खनाल, बिपी घिमिरे, भूपाल थापा, राज भूजेल, हिरा रेग्मी, रक क्षेत्री, अशोक सिंजापती, हिमाल कुँवर, नर ब. बुढाथोकी, केजी कुमार, अभिषेक अर्याल, मान ब. लगायत कलाकारहरुको अभिनय रहेको छ ।

विष्णु भट्टराईको निर्देशन रहेको उक्त भिडियोको छायांकन बुटवल जीतगढी किल्ला आसपासमा गरिएको छ । संगीत प्रशिक्षण समेत गर्ने सायरका सबै गीत चर्चित छन् । ‘टिष्टा काङ्गडा’ जस्ता दर्जनौं जनवादी गीत गाएका सायरका ‘तिमी फुल्यौ कतै’, ‘नजलाउ व्यर्थै छाती’ लगायत आधुनिक गीतहरु बहुचर्चित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation