एमसीसी कार्यान्वयन विरुद्ध नेकपाद्वारा संघर्षका कार्यक्रम घोषणा, प्रतिरोध संघर्षमा उत्रिन देशवासीमा अपिल

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसी परियोजना र नेपाल सरकारबिच कार्यान्वयन गर्ने सहमति पत्रमा हस्ताक्षर हुँदैछ भन्ने जानकारीले आफुहरुलाई गम्भीर बनाएको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ । मङ्गलबार नेकपा महासचिव विप्लवद्वारा एक प्रेस वक्तव्य जारी गर्दै एमसीसी विरुद्ध दवाबमूलक कार्यक्रम सार्वजनिक गरिएको हो ।

महासचिव विप्लवद्वारा हस्ताक्षरित वक्तव्यमा जनाए अनुसार भदौ ६ गते देशव्यापी वालिङ, ७ गते एमसीसीको पुत्ला दहन, ८ गते एमसीएको प्रमुख खडकबहादुर विष्टको पुत्ला दहन, ९ गते गाउँगाउँमा जागरण प्रचार, १० गते देशव्यापी जनप्रदर्शन, ११ गते काठमाण्डौमा एमसीसीबारे अन्तरक्रिया र १२ गते नुवाकोट, तनहुमा एमसीसीबारे अन्तरक्रिया कार्यक्रम गरिने भएको छ ।

वक्तव्यमा – अमेरिकाले देशभक्त नागरिकको माग र आवाजको मात्र होइन संसदले पास गरेको १२ बुँदे टिप्पणीप्रति पनि कुनै वास्ता गरेन । यस्तो स्थितिमा एमसीसीलाई कार्यान्वयनमा लैजाने विषय सम्पूर्ण रुपले अस्वीकार्य एवं असह्य छ भन्दै `यदि समयमै अमेरिकी साम्राज्यवादी हस्तक्षेपलाई बुझिएन भने देशले ठूलो मूल्य चुकाउनु पर्नेछ र नागरिकहरु पछुताउनु पर्नेछ । यसबारे नेपाल सरकार, सम्पूर्ण राजनैतिक दलहरु, बुद्धिजीवी, नागरिक अगुवा सबै सचेत हौं भन्ने हाम्रो धारणा छ । हामी जो जहाँ छौं त्यहीँबाट यो राष्ट्रघाति सम्झौताका विरुद्ध आवाज उठाऔं, संघर्ष गरौं र एमसीसीलाई असफल पारौं । हाम्रो पार्टी देशमाथि हस्तक्षेप गर्ने अमेरिकी साम्राज्यवादी शासक गूटका विरुद्ध सम्पूर्ण रुपले प्रतिरोध संघर्षमा उत्रिने जानकारी गराउँदछौं´समेत  भनिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation