मेयर शाहले दिए सिंहदरबार जलाउने धम्की

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको भन्दै सिंहरबारमा आगो लगाउने धम्की दिएका छन् । उनले प्रचण्ड नेतृत्वको सरकारलाई चोरको संज्ञा समेत दिएका छन् ।

बिदाको दिन सरकारी गाडी तीव्रगतिमा चलाएपछि कोटेश्वर ट्राफिक प्रहरी वृतको टोलीले रोक्दा उनले यसको आक्रोश सामाजिक सञ्जालमा पोखेका छन् । फेसबुकमा उनले लेखेका छन,‘आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहरदरबार आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

शनिबार राति ९ बजेतिर बालकुमारीबाट तीनकुनेतर्फ आउँदै गरेको सेतो नम्बर प्लेटको रातो गाडीलाई कोटेश्वर ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षकले रोकपछि आक्रोश पोखेका छन् ।

नौ बजे प्रहरी नायब निरीक्षक सुशील न्यौपानेले बिदाको दिन सेतो नम्बर प्लेटको गाडी चेक गरेर बिदाको दिन चलाउने अनुमति पत्र मागेका थिए । ‘सिनियर प्रहरीले बिदाको दिन गाडी चलाउने अनुमति माग गरेको हो । अनुमति थिएन,’उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआइजी पोषराज पोखरेलले भने,‘बढीमा २ देखि ३ मिनेट मात्रै रोकिएको हो । केही भएको छैन ।’ सरकारी गाडी रोकेर कहाँको गाडी, गाडीमा को छन् ? भनेर सोधखोज मात्रै गरेको चेकिङमा खटिएका एक प्रहरीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation