माओवादी नेताद्वारा आफ्नै कार्यकर्ताको लाखौं रकम ठगी

तुलसीपुर । नेकपा (माओवादी केन्द्र) को विशेष रुपान्तरण अभियान चलिरहेको बेला दाङमा सो पार्टीका एक पालिका इन्चार्जले आफ्नै कार्यकर्ताको लाखौं रकम ठगी गरेको पाइएको छ ।

नेकपा ( माओवादी केन्द्र) तुलसीपुर उपमहानगर कमिटटीका इन्चार्ज प्रेमराज वली (प्रभात) र पार्टीका नेता ओम प्रकाश वलीले आफ्नै पार्टी कार्यकर्ताहरुको ३६ लाख ७० हजार बराबरको रकम ठगी गरेको घटना बाहिरिएको हो ।

नेकपा (माओवादी केन्द्र) तुलसीपुरका १९ जना कार्यकर्ताहरुले नेता प्रभात र ओम प्रकाशले क्रीप्टो करेन्सी कारोबारको नाममा ग्लोबल इन्फिनिटी ट्रेडर्स नामक संस्थाको नाममा विभिन्न प्रलोभन देखाई विभिन्न व्यक्तिहरुबाट रकम लिएको र अहिलेसम्म रकम फिर्ता नगरेकाले प्रभात र ओम प्रकाशलाई झिकाई छलफल गराई पाउँ भनी साउन १५ गते पार्टीका जिल्ला अध्यक्ष तथा पार्टी इन्चार्जलाई सम्बोधन गर्दै निवेदन समेत बुझाएका थिए ।

पीडित कार्यकर्ताहरुको सामुहिक हस्ताक्षर गरिएको उक्त निवेदनको सुरुमा लेखिएको छ – ‘क्रीप्टो करेन्सी कारोबारको नाममा ग्लोबल इन्फिनिटी ट्रेडर्स नामक संस्थाको नाममा विभिन्न प्रलोभन देखाई विभिन्न व्यक्तिहरूबाट उल्लेखित रकम लिएको र हालसम्म उक्त रकम फिर्ता नगरेकाले प्रेमराज वली (प्रभात) , ओम प्रकाश वलीलाई झिकाई छलफल गरि पाउँ।’

नेकपा (माओवादी केन्द्र) का नेता प्रभात र ओम प्रकाशबाट ठगिएका १९ कार्यकर्ताहरु अधिकांश तुलसीपुर -५ का कार्यकर्ता रहेको बुझिएको छ ।

यता क्रीप्टो करेन्सीको नाममा लिएको रकम फिर्ता नगरेको आरोप लागेका नेकपा (माओवादी केन्द्र) तुलसीपुरका इन्चार्ज प्रभातले डेलिन्युजराप्तीसंग फोन संवादमा भने– ‘यो मलाई सिध्यानका लागि गरिएको छ । म एउटा व्यापारी पनि हुँ । मैले ३% ब्याजमा पैसा काढेर लगानी गरेको हुँ । मैले पार्टीका जिल्ला इन्चार्जलाई पनि मुद्दा  आएपछी बसालेर छलफल गराउनुस्  भनेको हुँ । मुद्दा हालेका मध्ये केही आफन्त छन् ती सहमत भएर कारोबार गरेका हुन् । कतिपयले किर्ते हस्ताक्षर गरेका छन् । मैले ती कुनै व्यक्तिलाई लगानी गर्नुस्  भनेको होइन । यो अवैध कारोबार हो भनेर जान्दाजान्दै पनि मैले आफुले लगानी गरेको हुँ । नेता प्रभातले यो मुद्दा  आफुलाई सिध्याउनका लागि रचिएको दाबी समेत गरेका छन् ।
नेकपा (माओवादी) केन्द्र दाङका जिल्ला इन्चार्ज निर्मल आचार्यले क्रीप्टो करेन्सीको नाममा कार्यकर्ता ठगिएको मुद्दा  जिल्लामा समाधान नभए केन्द्रीय विषय बनाइने बताउनु भएको छ ।

नेता आचार्यले उक्त मुद्दा जिल्ला पार्टी कार्यालयमा दर्ता भएको बताएका हुन् । फोन संवादमा बोल्दै नेता आचार्यले भन्नुभयो, ‘मुद्दा आएको छ । जिल्ला पार्टी कार्यालयमा मुद्दा दर्ता भएको छ । प्राविधिक कारणले गर्दा प्युठान केन्द्रित हुनुपरेकाले दाङको इन्चार्ज जयपुरी घर्तीलाई रिपोर्ट गरेको छु । यो समस्या समाधान भएन भने यसलाई केन्द्रीय विषय बनाइनेछ । केन्द्रमा रिपोर्ट गरिनेछ । केही केसहरु प्युठानमा पनि आएका छन् । हामी ब्ल्याकमेलिङमा पर्‍यौं कतिपय साथिहरुले अपचलन गरेका छन् भनेर भाइवरमा अमुर्त आएको छ । पार्टी कार्यालयमा दर्ता गर्नुभएको छैन । मैले त्यो मुद्दा जस्ताको त्यस्तै संयोजकलाई फर्वाड गरेको छु।’

नेता आचार्यले अहिलेको अभियानमा समस्यालाई थाती लगाएर चित्त बुझाएर बस्नुस नभनेर समस्यालाई समाधान गरेर मात्रै अभियान चलाइने समेत बताउनुभयो ।

एक अर्को प्रसंगमा बोल्दै नेता आचार्यले भन्नुभयो, ‘अभियान तीन विषयमा केन्द्रित छ । एउटा विचार निर्माणसंग सम्बन्धित, विचार संस्लेषण गर्नलाई विचार महाधिवेशन गर्दैछौं । अर्को संगठनसंग समबन्धित छ । संगठनको स्वरुप , प्रक्रिया कस्तो हुन्छ ? अर्को चाँही संघर्षको स्वरुप ठोस गर्नलाइ हो । दलाल पुँजिपती , भ्रष्टाचारीमाथि आक्रमणको ठोस स्वरुप दिन खोज्दैछौ । नेपालबाट विश्वमा क्रान्ति र शान्तिको सन्देशसहित अगाडि बढेका छौँ ।

नेता आचार्यले अभियानको शिलशिलामा जनताले जनयुद्धको बेला खाएको आटोको पैंचौ तिर्न आउनुपर्दैन भनेर गुनासो गर्ने गरेको समेत बताउनुभयो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation