अमेरिका सबै सर्त स्वीकार गरेर भएपनि नेपाल आउन चाहेको छ : विप्लव

कपिलवस्तु नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी.ले अमेरिका सबै सर्त स्वीकार गरेर भएपनि नेपाल आउन चाहेको कुरा बताउनु भएको छ । कपिलवस्तुस्थित पार्टी कार्यालयमा आयोजित जिल्ला सदस्यहरुको प्रशिक्षण कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

राप्ती, पश्चिम लुम्बिनी र पूर्वी लुम्बिनी गरी ३ वटा ब्युरोबाट सहभागी सदस्यहरुलाई प्रशिक्षण गर्ने क्रममा अमेरिकी हस्तक्षेप बढेपछि अहिले नेपालमा अन्तरविरोध बदलिएको कुरा समेत स्पष्ट उहाँले पार्नुभएको छ । जुनसुकै हालतमा अमेरिकी सेना नेपाल प्रवेश गरेर युद्ध लाद्न खोजेकाले सबै कम्युनिस्ट र देशभक्तहरु मोर्चाबन्दी गरेर लड्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपालमा वास्तविक लोकतन्त्र नआएकोले वास्तविक लोकतन्त्र स्थापनाका निम्ति क्रान्ति सम्पन्न गर्नुपर्ने पनि उहाँले बताउनुभयो । “संसदीय पार्टीहरुले साम्राज्यवादसंग लड्न सकिने अवस्था छैन भन्नू गलत हो, लड्न सम्भव छ त्यसका निम्ति नयाँ तरिकाले सोंच्नुपर्छ”, उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा स्थायी समिति सदस्य विषम सी र भरत सी, पोलिट ब्युरो सदस्यहरु विजय सी, असल सी, बन्धु सी, मधेसी मुक्ति मोर्चाका संयोजक विनोद सी लगायतले राष्ट्रिय मुक्ति र समाजवाद स्थापनाका निम्ति तयारीमा जुट्न सबैलाई आव्हान गर्नुभयो । कार्यक्रम पोलिट ब्युरो सदस्यहरु सबिन सी.को सञ्चालन, सञ्जीव सी.को स्वागत र प्रज्वलन सी.को अध्यक्षतामा सम्पन्न भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation