नवलपरासी घटनाप्रति मोर्चाको ध्यानाकर्षण

रुपन्देही । नवलपरासीमा भएको दुईवटा छुट्टाछुट्टै जातीय घटनाप्रति श्रमिक समुदाय मोर्चा नेपाल, पूर्वी लुम्बिनी ब्युरोले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । कार्तिक ८ गते त्रिवेणीमा दशै-दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा र १० गते ध्यान स्याहार्ने क्रममा स्थानीय श्रमिक समुदायका व्यक्तिहरुमाथि कथित उच्च जातिका व्यक्तिहरुले जातीय दुर्व्यवहार सहित कुटपिट गरेको घटनाप्रति मोर्चाले आपत्ति जनाएको हो ।

ब्युरो संयोजक सरिता सी.द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ “उक्त मानवीय र गैरन्यायिक घटनाको मोर्चा घोर भत्सर्ना गर्दछ । घटनाका दोषीहरुलाई कानुनी कार्वाही र पीडितहरुलाई न्याय दिलाउनका निम्ति स्थानीय निकाय, जातीय मुक्तिका लागि कार्यरत सम्पूर्ण संघ-संगठन, पत्रकार, बुद्धिजीवी, मानव अधिकारकर्मी, न्यायकर्मी र प्रहरी-प्रशासन लगायत सबैलाई हार्दिक अपिल गर्दछौं ।”

       कार्तिक ८ गते सुस्ता ५ का दिनदयाल गुप्ता, श्याम तेली, सतिष तेली, मनिष गुप्ता, जोगेन्द्र गुप्ता, दिपक गुप्ता, विनोद गुप्ता दुर्गाको प्रसाद खान माग्दा जातीय गालीगलौज सहित दुर्गाचरण हरिजन, उनकी आमा अमरावतीदेवी हरिजन र भाइ विद्यासाग्र हरिजनलाई कुटपिट गरेका थिए । त्यसैगरी  कार्तिक १० गते सन्दीप हरिजनको आगनमा धान स्याहार गर्ने कामको शिलशिलामा पराल र धानको धुलो उड्यो भनी सुस्ता ४ गोकुलनगरका यादव समुदायका स्थानीय व्यक्तिहरुले जातीय अपमानजनक  र अश्लील गालीगलौज सहित श्रमिक (दलित/चमार) समुदायका महिलाहरु ; पुनम हरिजन, शिला हरिजन, सविता हरिजनलाई कुटपिट गरी सक्त घाइते बनाएको कुरा स्थानीय रामप्रीत हरिजनले जानकारी दिनुभयो ।

     उक्त घटनाविरुद्ध जातीय संघ-संगठन, पत्रकार, मानवअधिकारवादीहरुले विरोध जनाइरहेका छन् । कार्तिक ८ गतेको घटनाको जाहेरी दर्ता गर्न स्थानीय बेलाटारी प्रहरी चौकीले अस्वीकार गरिरहेको र १० गतेको घटनाको जाहेरी दर्ता भएको भजनलाल हरिजनले जानकारी दिएका छन् । घटनाबारे बुझ्न प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई फोन सम्पर्क गर्दा आफुलाई जानकारी नभएकोले जिल्ला प्रहरी प्रमुखलाई सम्पर्क गर्नु भन्ने जवाफ दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation