वर्ग संघर्ष र राष्ट्रियताको लडाइँ अपरिहार्य

पाल्पा । नेपाल कम्युनिस्ट पार्टी, तिनाउ गाउँ कमिटीको बैठक आज तिनाउमा सम्पन्न भएको छ । बैठकले संगठन बिस्तार तथा नवौं महाधिवेशन उन्मुख अभियान सञ्चालन गर्ने, स्थानीय अनियमितता र अन्यायका विरुद्ध सशक्त संघर्ष गर्ने लगायत निर्णय गरेको छ । संसदवादी दलहरूले स्थानीय स्तरमा एकलौटी लुट मच्याइरहेकोमा असन्तुष्टि सहित बैठकमा उपस्थित पार्टी सदस्यहरुले पार्टीको ध्यानाकर्षण गराए । बैठकका प्रमुख अतिथि नेकपा, पाल्पाका जिल्ला सचिवालय सदस्य निशान बिकले केन्द्र देखि स्थानीय स्तरसम्मका भ्रष्टाचार, अनियमितता र अन्यायका विरुद्ध एक भएर संघर्ष गर्नुपर्ने कुरा बताए । बिकले देश र जनताको मुक्तिका निम्ति वर्ग संघर्ष र राष्ट्रियताको लडाइँ अपरिहार्य भएको र त्यसको नेतृत्व विप्लव नेतृत्वको नेकपाले मात्रै गर्न सक्ने भएको हुँदा सबैले साथ दिनुपर्ने कुरामा जोड दिए ।

गाउँ कमिटी सेक्रेटरी भानु दर्लामीको अध्यक्षतामा भएको बैठकमा गाउँ कमिटी इन्चार्ज राजिव भट्टराई, जिल्ला सल्लाहकार टोपबहादुर बिक लगायतले जनताको मुक्तिका निम्ति लड्ने पार्टी नेकपा मात्रै भएको हुँदा सबैले साथ दिनुपर्ने बताए । आम जनता र राष्ट्रको मुक्तिका निम्ति एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नुको विकल्प नरहेकोले नेकपामा आवद्ध भएर अघि बढ्नुपर्ने कुरामा वक्ताहरुले जोड दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation