पश्चगामीले दाउ खेलिरहेको छ : प्रज्वलन सी

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज प्रज्वलन सी.ले पश्चगामी तत्वले दाउ खेलिरहेको बताउनु भएको छ ।  श्रमिक समुदाय मोर्चा नेपाल, पूर्वी लुम्बिनी ब्युरोको दोस्रो पूर्ण बैठकमा प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

“अहिले नेपालमा क्रान्तिकारीहरु पूर्ण सफल नभएकोमा असन्तुष्ट छन् र प्रतिक्रियावादीहरु आफ्नो सत्ता गुमेकोमा असन्तुष्ट छन् । तमाम समस्याको समाधान पश्चगामी राजतन्त्र होइन समाजवाद हो” भन्नेमा उहाँले जोड दिनुभयो । पूर्ण अधिकार प्राप्तिका लागि अन्तिम क्रान्तिका निम्ति जुट्न समेत उहाँले सबैलाई आव्हान गर्नुभयो ।

बैठकका विशेष अतिथि मोर्चाका केन्द्रीय सचिव उमेश सी.ले मोर्चाको केन्द्रीय योजनाको बारेमा सबिस्तार बताउनु भएको छ । उहाँले जिल्ला स्तरमा भइरहेका विभेद विरुद्ध सशक्त संघर्ष गर्नका निम्ति सबैलाई आग्रह गर्नुभएको छ । त्यसैगरी नेकपा केन्द्रीय प्रतिनिधि सदस्य तथा मोर्चा सचिवालय सदस्य कुमार सी., मोर्चा केन्द्रीय सूचना – प्रकाशन विभाग प्रमुख निशान सी. ले बैठकमा प्रशिक्षण मन्तव्य राख्नु भएको छ ।

मोर्चाले स्थानीय स्तरमा हुने विभेद विरुद्ध सशक्त संघर्ष गर्ने, अपमानजनक नाम/थर सच्याउन तीव्र पहल गर्ने, स्थानीय स्तरमा श्रमिक समुदायका निम्ति राज्यद्वारा छुट्याइएको सेवा-सुविधाको सोध-खोज गर्ने लगायत निर्णय बैठकले गरेको छ ।

संगठन बिस्तार गर्ने, श्रमिक समुदाय र सी जातिबारे व्यापक छलफल, अन्तरक्रिया र बहस गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठक मोर्चाका पूर्वी लुम्बिनी ब्युरो संयोजक सरिता सी.को अध्यक्षतामा सम्पन्न भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation