श्रमिक मोर्चा जाजरकोट अध्यक्षमा विशाल सी निर्वाचित, केन्द्रीय अध्यक्ष रामलाल सी.द्वारा बधाई  तथा शुभकामना

सुर्खेत । श्रमिक समुदाय मोर्चा नेपाल, जाजरकोटको अध्यक्षमा रुकुम नरसंहारमा हत्या भएका नवराज बिक लगायतको न्यायका लागि सुरुदेखि संघर्षरत विशाल सी सर्वसम्मत निर्वाचित हुनुभएको छ । सोमबार सदरमुकाम खलंगामा सम्पन्न मोर्चाको दोस्रो जिल्ला भेलाबाट उहाँको नेतृत्वमा १५ सदस्यीय कमिटी निर्माण भएको हो । उपाध्यक्षमा विर्मान सी (प्रकाश) निर्वाचित हुनुभएको छ ।

      भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल सी.ले निर्वाचित कमिटीलाई बधाई तथा  शुभकामना दिनुभएको छ । सबै उत्पीडित वर्ग र समुदायको मुक्तिको लागि आफ्नो पार्टी र मोर्चाले नयाँ तरिकाले क्रान्ति अगाडि बढाइरहेको हुँदा क्रान्तिलाई साथ दिनका लागि उहाँले आग्रह गर्नुभयो ।

           भेलामा नेकपा जाजरकोट जिल्ला इन्चार्ज विराजन सी, सेक्रटरी धनजित सी, डोल्पा जिल्ला सेक्रटरी गौचन सी, मोर्चा केन्द्रीय सचिवालय सदस्य तथा सेती – महाकाली ब्यूरो इन्चार्ज मधुसुदन सी, केन्द्रीय सदस्य लोकेन्द्र सी र पत्रकार काली बहादुर नेपालीको आतिथ्यता रहेको थियोे । कार्यक्रममा स्थानीय कलाकारहरुले सांगीतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।

      नेकपा निकट तत्कालीन दलित मुक्ति मोर्चा नेपाल, हाल श्रमिक समुदाय मोर्चा नेपालको तर्फबाट भेरी नगरपालिका – १२ मल्ल टाेलका विशाल सी (पदम बहादुर चनारा) ले सोती घटना घटे लगत्तै नवराज बिक. लगायतका ६ जनाको परिवार संग एकाकार भएर दबावमूलक आन्दोलनको नेतृत्व गर्नुभएको थियो । शुरुमा स्थानीय प्रशासनले मुद्दा दर्ता गर्न मानिरहेको थिएन ।

नवराज बिक. लगायतका ६ जना भेरी नदीमा हाम फालेर मरेको भन्ने फर्जी पोस्ट मार्टम रिपोर्ट बनाएको अवस्थामा विशाल सी लगायतका स्थानीय सरोकारवालाहरुले १ महिनासम्म दबावमूलक आन्दोलन गरेपछि मात्र मुद्दा दर्ता गरिएको हो । त्यसपछि मात्र यथार्थ पोस्ट मार्टम रिपोर्ट सार्वजनिक गर्न प्रहरी प्रशासन बाध्य भएको थियो । त्यस घटनालाई न्यायिक फैसलासम्म निष्कर्षमा पुर्‍याउन विशाल सी लगायतको टिमले निरन्तर भूमिका खेलिरह्यो । अन्तिम फैसला हुनेबेलामा रुकुम पश्चिम जिल्ला अदालत गेटमा धर्ना बसेर नै घरपरिवार सहित विशाल सी लगायतका सरोकारवालाहरुले  दबाव दिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation