बाजुरामा गर्भवती महिलालाई बलात्कार, पीडितका श्रीमान र देवरलाई प्रहरीले उल्टै थुनामा राखेपछि चौतर्फी विरोध

 

सुर्खेत । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर- ३ मा एक पुरुषले श्रमिक समुदायको गर्भवती महिलालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । सोही गाउँ बस्ने जङ्गसिंह बुढाले उक्त महिलालाई बलात्कार गरेको भन्ने कुरा सार्वजनिक भएको हो ।

 

पौष ९ गते राति १ बजे सो महिलाको श्रीमान मेला हेर्न गएको मौका पारी घरभित्र गएर बलात्कार गरेको बताइएको छ । आफुले थाहै नपाउनेगरी एक्कासी आएर दुईवटै हात च्यापेर बलात्कार गर्न खोज्दा आफू चिच्याउन थालेपछि मुख बन्द गरी बलात्कार गरेको महिलाले बताएकी छिन् । आफू गर्भवती अवस्था रहेकोले केहि गर्न नसके पनि चिम्टाले एक चोट हानेको र हँसियाले हान्न खोज्दा उल्टै हँसिया तानेर ज्यान मार्ने धम्की समेत दिएको उनी बताउँछिन् ।

 

श्रीमतीको न्यायको लागि जाहेरी दिन जिल्ला प्रहरी कार्यालय बाजुरा गएका पीडितका श्रीमान र देवरलाई उल्टै ज्यान मार्ने उद्योग सम्बन्धि मुद्दा लगाई थुनामा राखिएको छ ।

 

श्रीमान र देवर लाई थुनामा राखेको भन्ने खबर आए पछि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक कबिद्र सिंह बोहरालाई फोन गरेर सोध्दा आफू बिदामा रहेको कारण आफुलाई जानकारी नभएको र उल्लेखित महिला माथि भएको जबरजस्ती करणीसम्बन्धी कसुर मुद्धाको जाहेरी दरखास्त पौष १३ गते जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो । सो मुद्धाका प्रतिवादी जंगसिंह बुढा सोही मितिमा पक्राऊ परी सम्मानित बाजुरा जिल्ला अदालतबाट सोही दिनबाट लागु हुने गरी दिन ७ (सात) को म्याद थप अनुमति समेत प्राप्त भई अनुसन्धान भईरहेको र निज बुढामाथि बिहानको समयमा आक्रमण गरी घाईते बनाउने कार्यमा संलग्न दुई जना व्यक्तिहरुलाई समेत निजको बुवा परेउलाल बुढाको ज्यान मार्ने उद्योग सम्बन्धी जाहेरीका आधारमा १५ गते पक्राऊ गरी अनुसन्धान भईरहेको बताए ।

 

अभियुक्त बुढा पक्ष र महिला पक्षको छुट्टाछुट्टै कुरा आएकोमा सत्यतथ्य छानबिन भइरहेको प्रहरीले स्रोतले बताएको छ ।

 

पीडितको श्रीमान र देवरलाई थुनामा राखिएको घटनाप्रति विभिन्न जातीय संघ, संगठन र अधिकारकर्मीहरुले चौतर्फी विरोध जनाइरहेका छन् । बलात्कारको सत्यतथ्य छानबिन गरी अपराधीलाई कार्वाही गर्नुपर्ने सबैको माग छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation