चार श्रमिक-दलित संगठनहरु बीच समाजवादका लागि अघि बढ्ने सहमति

काठमाडौं । समाजवादी मोर्चा नेपालमा आबद्ध ४ पार्टी निकटका श्रमिक/दलित समुदाय मोर्चा-संगठनहरुको संयुक्त बैठक सम्पन्न भएको छ । श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल सी.को अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

       नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय कार्यालय बागबजार (काठमाडौं) मा शनिबार भएको बैठकले विभिन्न निर्णय गरेको छ । समाजवादमा दलित एजेण्डा समेटिएको मोर्चाको अवधारणा, कार्यविधि, साझा एजेण्डा र तत्कालीन कार्ययोजना निर्माण गरी अघि बढ्ने सहमति सहितको निर्णय बैठकले गरेको छ ।

       नेपाल दलित मुक्ति मोर्चाको महासचिव शंकर दुलालको संयोजकत्वमा नेपाल दलित मुक्ति संगठनबाट बसन्त बिक., श्रमिक समुदाय मोर्चा नेपालबाट सुरज सी, समाजवादी दलित मुक्ति संगठनबाट चन्द्रेश्वर पासवान र महिला प्रतिनिधि संगिता रसाइली रहेको ५ सदस्यीय कार्यदल समेत बैठकमा निर्माण गरिएको छ ।

      बैठकमा नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजीत श्रीपाइली, उपाध्यक्ष पदम विश्वकर्मा, महासचिव शंकर दुलाल, सदस्य सानुभाइ मालभुल, त्यसैगरी नेपाल दलित मुक्ति संगठनका अध्यक्ष गणेश विश्वकर्मा, उपाध्यक्ष बसन्त बिक.को उपस्थिति रहेको थियोे ।

       श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल सी, कार्यालय सदस्य पदम सी, सदस्य सुरज सी,  समाजवादी दलित मुक्ति संगठनका महासचिव प्रदीप घटाल र सदस्य प्रवीण मजाकोटी लगायतको बैठकमा उपस्थिति रहेको थियोे ।

     समाजवादी मोर्चा नेपालमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी गरी ४ वटा सहभागी छन् । अहिले मोर्चाको अध्यक्षता नेकपा महासचिव विप्लवले गरिरहनु भएको छ ।

       विप्लवले नेतृत्व गरे लगत्तै एमाले लगायत कम्युनिस्ट, वामपन्थी र समाजवाद चाहने पार्टीहरुलाई समेत मोर्चामा सहभागी बनाउन सशक्त पहल भइरहेको बुझिएको छ । वैदेशिक हस्तक्षेपका विरुद्ध संयुक्त संघर्ष गर्न र समाजवाद स्थापना गर्नका निम्ति मोर्चाले प्रभावकारी कार्यक्रम अगाडि बढाउने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation