श्रमिक समुदाय मोर्चा, रुपन्देहीको जिल्ला सम्मेलन सम्पन्न

बुटवल । श्रमिक समुदाय मोर्चा नेपाल, रुपन्देहीको पाँचौ जिल्ला सम्मेलन आज बुटवलमा सम्पन्न भयो । सम्मेलनबाट हर्क को नेतृत्वमा १७ सदस्यीय जिल्ला समिति निर्माण भएको छ ।

सम्मेलनका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा मधेसी मुक्ति मोर्चा नेपालका केन्द्रिय अध्यक्ष विनोद सी.ले प्रकृतिले बनाएको मानव जातिलाई सामन्तवादले विभेदको पद्धति बनाएको हुँदा त्यसका विरुद्ध संघर्ष गर्नुपर्ने बताउनु भयो ।

मोर्चाका केन्द्रीय सचिव उमेश सी. ले २००३ सालदेखि जातीय मुक्ति संघर्ष चल्दै आएपनि निष्कर्षमा पुग्ने नसकेको हुनाले अब निर्णायक संघर्ष गर्नुपर्ने बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टी बाहेक अन्य पार्टीले श्रमिक समुदायका मान्छेलाई कार्यकारी पद समेत नदिने संस्कार रहेको हुँदा नेकपा बाहेक अन्य पार्टीबाट मुक्तिको सम्भावना नरहेको उहाँले बताउनु भयो ।

नेकपाका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज शरद सी. ले सबै उत्पीडित जाति र समुदायको मुक्तिका लागि वर्गीय मुक्तिको आवश्यकता रहेको र त्यसका निम्ति नेपाली विशेषताको समाजवाद स्थापना गर्नुपर्ने भएकोले एकीकृत जनक्रान्तिमा लामबद्ध हुन सबैलाई आग्रह गर्नुभयो ।

सम्मेलनबाट दिपक सी. उपाध्यक्ष, कमला सामत सचिव, लिलाराम परियार सहसचिव, देवी रसाइली कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । त्यसैगरी सुरज रसाइली, मंगल हरिजन, विमला सी, सुकमाया बिक, अशोक सुनार, गंगोत्री धरिगा, कमला दर्जी, सीता आब्जु, रुपा सुनार, सावित्री बिक लगायत जिल्ला सदस्यमा निर्वाचित भएका छन् ।

मोर्चाका सूचना तथा प्रकाशन विभाग निशान सी. ले प्यानल प्रस्ताव गर्नुभयो । सम्मेलनले राजकुमार बिक र बेचन हरिजनलाई सल्लाहकारमा निर्वाचित गरेको छ । सम्मेलन सरिता सी.को अध्यक्षता र जानकी सी.को सञ्चालनमा सम्पन्न भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation