कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी.ले विद्रोह सचेत र उत्पीडित वर्ग – समुदायले मात्रै गर्न सक्ने बताउनु भएको छ । श्रमिक समुदाय मोर्चा नेपालको छैठौं पूर्ण बैठकमा प्रमुख अतिथिको रूपमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।
बुधबारदेखि नेकपा केन्द्रीय कार्यालय, कपिलवस्तुमा भएको बैठकमा मोर्चाका नेताकार्यकर्तालाई प्रशिक्षण दिँदै उत्पादन सहितको राजनीतिमा अग्रसर हुन समेत उहाँले सबैलाई आग्रह गर्नुभयो । पुरानो व्यवस्था र संस्कृतिबाट उत्पीडित जाति – समुदायको मुक्ति सम्भव नभएकोले नेपाली विशेषताको समाजवादी व्यवस्था र सी संस्कृति स्थापनाका निम्ति अग्रसर हुन पनि उहाँले आग्रह गर्नुभयो ।
उत्पीडन नभोगेका र मार्क्सवादी सचेतना नभएकाले विद्रोह र क्रान्ति गर्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो । उत्पीडन र विभेदको अन्त्य समाजवादमा मात्रै हुने भएकोले नेपाली विशेषताको समाजवादका लागि सक्रिय हुन समेत उहाँले सबैलाई निर्देशन दिनुभयो ।
बैठकमा नेकपा स्कुलिङ विभाग प्रमुख भेषराज सी, पोलिटब्युरो सदस्य विजय सी, श्रमिक समुदाय विभाग प्रमुख सन्तोषी सी लगायतले प्रशिक्षण मन्तव्य राख्नुभयो ।
बैठक श्रमिक समुदाय मोर्चाका अध्यक्ष रामलाल सी.को अध्यक्षता र मोर्चाका महासचिव त्रिलोचन सी.को सञ्चालनमा सम्पन्न भएको हो । बैठक विभिन्न ऐतिहासिक निर्णय गर्दै सानदार रुपमा सम्पन्न भएको जानकारी मोर्चाका सचिव उमेश सी.ले दिनुभयो ।