कास्की । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीले जिल्लामा उत्पादन कार्यक्रम थालेको छ । पार्टीले पोखरा २६ र पोखरा १४ मा सामूहिक कृषि सुरुवात गरेको हो ।
यसपालि साङ्केतिक रुपमा सामूहिक उत्पादन सुरु गरिएको जनाउँदै नेकपा कास्की सेक्रेटरी उमेश सी.ले अर्काे वर्षबाट कार्यक्रमलाई थप प्रभावकारी बनाइने जनाए । ‘यस पटक साङ्केतिक रुपमा सुरुवात गरेका छौं,’ उनी भन्छन्, ‘अर्काे वर्षबाट सबैजसो जनवर्गीय सङ्गठनलाई उत्पादनमा जोड्ने योजना छ ।’
एकीकृत जनक्रान्तिको अभिभारा पूरा गर्न पार्टी उत्पादनमा नलागी नहुने जनाउँदै उनले पार्टी सञ्चालनकै लागि चन्दा उठाउनुपर्ने अवस्था चाँडै पूर्ण पूर्ण रुपमा अन्त्य गर्ने गरी लाग्ने प्रतिबद्धता समेत गरे ।
पोखरा–१४ छिनेडाँडामा यसै वर्ष सयपत्री फूल रोप्ने तयारी भएको छ । तिहारको बजारलाई लक्षित गरी शुक्रबार फूलको बिउ राख्ने तयारी छ । पोखरा २६ मा पर्ने माझको मूलपानीमा भने पाँच रोपनीमा धान रोपिएको छ । अर्काे साल थप जग्गासमेत लिने र मौसम अनुसारका खाद्यान्न, तरकारी र फलफूल खेती विस्तार गर्ने योजना उनले बताए ।