
संस्मरण
२०५७ शरद ऋतुको एक बिहान ! छिमेकी दाइ अनि मेरो काइलो दाइ र म पिठ्युँमा मक्कैको बोरा बोकेर घरबाट अलि पर तारेपखेराको भिर हुँदै काशीकाँध खोला झर्दै थियौँ । करिब एक घण्टा ओरालो झरेपछि खोलाको किनारमा घट्ट देखिए । मकैको भारिसँगै ओरालो झर्दा पसिनाले निथ्रुक्क भिजेका थियौँ । खुट्टा काँपेका थिए । क्षितिजमा झुल्किएका घामका किरणले खोला, बगरलाई उज्यालो पार्दै थिए । फैलिदै थियो विशाल प्रकाश कन्दरासम्म । बिहानी प्रकाशको आनन्द लिंदै थियौं । हाम्रो ध्यान प्रकाश तिरै गयो ।
अनायास, ‘नमस्कार, लालसलाम’ आवाजसंगै तीन जना मान्छेहरु हाम्रो अगाडि उभिए र सोधे, “माथि गाउँमा जाने बाटो यही हो नि ?” मैले भने, “हो सर” ती मान्छेहरु निकै सुन्दर थिए । एक जना केटी र दुई जना केटा तर हामीलाई अलिअलि डर पनि लागिरहेको थियोे । किनभने उनीहरुसंग पेस्तोल र कम्मरमा गोलो आकारको वस्तु थियोे, त्यो चाहिँ ग्रीनेट रहेछ । त्यसो त पहिलो पटक सदरमुकाम जाँदा पुलिसले भिरेको हतियार नदेखेको होइन । यो पटक आफ्नै गाउँमा देखें ।
ती मान्छेहरु सुन्दर अनि तिनको बोलिमा पनि मिठास थियो । तिनीहरु हाम्रो अङ्कलको उमेरका मान्छेहरु थिए तर पनि तीनै जनाले हामीलाई तपाईंहरु भनेर सम्बोधन गरे । मनमा कौतुहलता र खुशी एकसाथ भरियो । तीन जना मध्ये एकजना काशीकाँध गडिगाउँका अखण्ड राउत पो रहेछन् । काशीकाँधबाट पहिलो माओवादी तिनी अखण्ड भएका रहेछन् त्यो त म माओवादी पार्टीमा लागेपछि थाहा पाए ।
अचम्मको कुरा त यो हो की हामीलाई पहिलो पटक सुन्दर अनि हतियारले सुसज्जित मान्छेहरुले तपाई भनेर सम्बोधन गरेका थिए । त्यतिबेला समाजमा जातीय उत्पीडन चर्को थियोे । पचास बर्ष उमेर पुगेको दलितले दश/बाह्र वर्षको गैरदलितलाई ‘ज्यु, हजुर’ भन्नु पर्दथ्यो । एउटा गैरदलित बच्चाले आफ्नो बाजे सरहको दलितलाई ‘तिमी’ भनेर सम्बोधन गर्दथ्यो । हामी यस्तो समाजबाट आएका मान्छेहरु पहिलो पटक हामीलाई तपाईं भनेर सम्बोधन गर्दा हामी अचम्म परेका थियौँ ।
त्यतिबेला हाम्रो गाविस दैलेख काशीकाँध थियोे । खोलापारी कासिकाँध खोलावारि टाकुरी । काशीकाँधमा ठकुरी समुदायको बाहुल्यता थियो र टाकुरीमा मगरहरुको बाहुल्यता थियो । टाकुरी भन्दा काशीकाँधमा चरम छुवाछुत, विभेद थियोे । यहाँ सम्मको विभेद थियो कि कतिपय ठाउँमा दलितहरुलाई ‘डुम’ शब्दबाट सम्बोधन गर्ने चलन थियोे । हाम्रो घर काशीकाँध र टाकुरी दुवै ठाउँमा थियो । बाल्यकालमा काशीकाँध र टाकुरीसंग म धेरै परिचित भैसकेको थिए ।
त्यो रात १२ बजेको थियोे । दिनभरिको कामको थकानले मस्त निन्द्रामा थिएँ । एक्कासी जोड्तोड्ले कुकुरहरु भुके । त्यसपछि म ब्युँझिए । घरको माथिल्लो तलाको झ्यालबाट बिस्तारै बाहिरतिर नियालेर हेरे ! टाउकोमा रातो तीनतारे अंकित कफन बाँधेका सैनिक ड्रेस र प्रत्येक मान्छेको हातमा विभिन्न किसिमका हतियारले सुसज्जित मान्छेहरु दुई देखि तीन मिटरको दुरीमा मधुरो जुनको प्रकाशसंगै आफ्नै गतिमा हिडिरहेका थिए ।
कक्षा ५ को परीक्षा सकेपछि गाउँको तलबाट बग्ने रानिबन खोलामा हामी साथीहरू दिनभर पौडी खेल्यौं । साँझ थकित अवस्थामा घरमा आउँदा मैले २ जना नयाँ मान्छेहरु देखें । मैले आमासँग सोंधे, आमाले भन्नुभयो, “उहाँहरु सहरबाट आउनुभएको तिम्रा फूपू-पुसाइ हुनुहुन्छ,। तिमीलाई उहाँहरुले पढ्नका लागि आफुसंगै लौजाने भनेर आउनुभएको हो ।” पाँच दिदीहरु र चार दाजुहरु पछि घरको कान्छो सन्तान । हुँ । म कहिल्यै एकरात पनि आमासँग छुट्टिएर बसेको थिएन । आमासँग छुट्टिएर बस्नु मेरा लागि कल्पना बाहिरको कुरा थियोे ।
एकदिनको लगातार पैदल यात्रा पछि साँझ दैलेखको चुप्रा बजारमा बास बस्यौं । भोलिपल्ट बिहानै बस चढेर साँझ हामी सुर्खेत पुग्यौं । जीवनमा पहिलोपटक बस चढ्दा अनौठो लागिरहेको थियो । तर मनमा गाउँघरकै याद उर्लिरहेको थियो । सुर्खेत पुगेपछि स्कुल भर्ना हुने तरखरमा लाग्यौं तर भर्नाका लागि सर्टिफिकेट चाँहिने रहेछ । त्यसपछि मेरो भर्ना छुट्यो । सूचना-सञ्चारको अभावले गर्दा गाउँको स्कुलबाट सर्टिफिकेट मगाउन सम्भव भएन ।


कार्यक्रमस्थल नजिकै टाढा-टाढाबाट आएका मानिसहरूको लागि खाना, बस्नको व्यवस्था थियो । उनीहरुसंगै हामीले पनि त्यही मेसमा पकाएको खाना खाएर मेरो गाउँकै फुपुको छोरा लालबहादुर नेपाली, भुवन थापा मगर र म एकसाथ माओवादी बन्ने सल्लाह गर्यौं । २०५९ साल भदौ १ गते राति दोस्रो पटक ५० कटेका मेरा बाबाआमालाई छोडेर ‘मुक्ति या मृत्यु’ भनेर कसम खाँदै, रातो कफन बाँधेर माओवादी आन्दोलनमा भुमिगत जीवनको सुरुवात गरेको थिएं । त्यस क्षेत्रका सेक्रेटरी भूगोलले हामी ३ जनालाई त्यही रात हिँडाएर सेक्रेटरी कै गाउँमा लैजान सक्त बहादुरलाई निर्देशन दिए । रात छिप्पिदै थियो । झिमझिम पानी परिरहेको थियो । घडीले १० बजाइसकेको थियो । त्यहाँबाट हामी निर्देशन अनुसारको गाउँमा जान हिड्यौँ । करिब एक घण्टाको बाटो हिंडेका थियौँ । पानी धेरै ठूलो पर्यो । खोला तर्नुपर्ने थियो । जुका पनि उत्तिकै लाग्दथ्यो । खोला तर्न सक्ने अवस्था नभएपछि बिहान ५ बजे उठेर हिड्ने सल्लाह गरेर हामी एउटा गोठमा सुत्यौँ ।
बिहान झिसमिसे उज्यालोसंगै उठेर गन्तव्यतर्फ हिड्यौँ । टाकुरीको खोला झरेर काशीकाँधको उकालो हुँदै गोर्तीको बाँसखर्क पुगेका थियौं । त्यहाँ पुग्ने बेलासम्म बिहानको १० बजिसकेको थियो । भोक लागिरहेको थियो । हामीसंग खानेकुरा केही थिएन । हामीले सक्त बहादुरलाई खानेकुराको मेसो मिलाउन भन्यौँ । उनले गाउँमै पोलेको मकै खाने व्यवस्था मिलाए । मकै खाएपछि हामीले यात्रालाई निरन्तरता दियौं । गोर्तीको ओरालो हुँदै खोला तर्यौँ र फेरि उकालो चढ्यौं । करिब ३ बजे भुगोलको घरमा पुग्यौं । थकान र भोक असाध्यै लागिरहेको थियो । भुगोलको आमाले हामीलाई रोटी खान दिनुभयो । हामी त्यहीँ बस्यौं ।
……..२०५९ मंसिर २८ गते जनमुक्ति सेनाले जुम्ला सदरमुकाम सफल आक्रमण गर्यो । विजय उत्सवका साथ जनमुक्ति सेनाको एउटा टिम दैलेख आयो । हामी व्यवस्थापनमा खटिएका थियौं । जुम्ला आक्रमणमा बिर्माको बुवा मेरो जेठा दाजु विजय पनि सहभागी भएर दैलेख आउनु भएको थियो । त्यही मौकामा हामीले घर भेटघाटको चटारो मिलायौं । लामो समयपछि दाजु विजयसँगको भेटले म निक्कै उत्साहित थिएं । दैलेखको मध्य भेगबाट हाम्रो यात्रा सुरु भयो टाकुरीको लागि । पहाडी भेगका स-साना जङ्गल र जङ्घारहरु छिचोल्दै अविरल बढिरहेका थियौं । यात्राको क्रममैं भतिजी बिर्माको सहादतको खबरले हाम्रो पाइलाहरु रोकिए । मन अमिलो भयो । धमिनिहरुमा रगत उम्लियो । हामी स्तब्ध भयौं । त्यो अप्रत्याशित घटनाबारे स्थानीय कमरेड सुनाउँदै हुनुहुन्थ्यो । मंसिर २४ गते दैलेख बजारबाट गस्तीमा आएको शाही नेपाली सेनाको जत्थाले भैंसेखोरमा बिर्मालाई नियन्त्रणमा लिएको केहि बेरमा बीभत्स हत्या गरेछ । भावविह्वल मन बोकेर हामी दाजुभाई त्यहि साँझ घर पुग्यौं । परिवारजनहरु शोकमग्न थिए । घर परिवारलाई सम्झायौँ । युद्ध र क्रान्तिमा हुने बलिदानले आखिर परिवार र बाँचेकाहरुलाई शोकमग्न पार्छ नै, परन्तु हरेक कठिनाईहरुमा उर्जा पनि भरिरहेको हुन्छ । हामीले पनि परिवारमा उर्जा भर्यौं । क्रान्ति, क्रान्ति र फेरि पनि क्रान्तिको मार्गमा अविचलित बढिरहने सङ्कल्प गर्यौं । केही दिनको परिवारको सामीप्यता र घर बसाईपछि क्रान्ति पुरा गर्ने र दुश्मनसंग बदला लिने प्रतिज्ञा गर्दै विजय दाजु र म क्रान्तिको सुदुर यात्रामा निस्कियौं ।
…..
जनयुद्धमा विभिन्न मोर्चा र जिम्मेवारी सम्हाल्दै अगाडि बढ्यौं । पछि मलाई नौमुले जनसाँस्कृतिक टिममा भूमिका निर्वाह गर्ने जिम्मेवारी दिइयो । निकै इमानदारिताका साथ काम गर्यौं । पार्टीले बाह्रबुँदे सम्झौता गर्यो । संविधानसभाको चुनाव भयो । माओवादी देश कै ठूलो पार्टी बन्यो । समाजमा विद्यमान जातीय, वर्गीय, क्षेत्रीय, लैंगिक विभेद र असमानता हट्न सकेन । सामन्तवादको स्थान दलाल पुँजीवादले ओगट्यो । आंशिक सुधारहरु भए तर आमूल परिवर्तन भएको छैन् । जनयुद्धको कार्यभार र क्रान्ति अधुरै छ । शहिदको सपना अपुरै छ ।
(लेखक श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सचिवालय सदस्य हुन्)