काठमाडौं । श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सचिवालय सदस्य ध्रबिन्द्र बिकले आफ्नो मृगौलाको उपचार र प्रत्यारोपणमा सहयोग गर्नेहरूप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ । आज एक धन्यवादपत्र मार्फत उहाँले सहयोगीहरुप्रतति धन्यवाद ज्ञापन गर्नुभएको हो ।
करिब १ वर्ष अघि दुबै मृगौलामा समस्या देखिए पश्चात् सुरुदेखि हालसम्म उपचारका लागि सहयोग गरेका सबैमा उहाँले धन्यवाद ज्ञापन गर्नुभएको हो । उहाँलाई आफन्त, गाउँले साथीहरू, वैदेशिक रोजगारीमा रहेका साथीहरू, पत्रकारहरु, विभिन्न संघसंगठन एवम् सहयोद्धा साथीहरू र नेपाल कम्युनिस्ट पार्टीले विभिन्न किसिमका सहयोग गरेका हुन् ।
मोर्चाको कर्णाली ब्युरो इन्चार्ज जिम्मेवारीमा रहेकै बेला डोल्पामा रहँदा उच्च रक्तचापका कारण १ वर्ष अगाडि उहाँको दुबै मृगौला फेल भएको थियो । त्यसपछि काठमाडौं आएर वीर अस्पतालमा भर्ना भई उहाँले उपचार सुरु गर्नुभएको थियोे । उहाँले काठमाडौंका विभिन्न अस्पताल र इन्डिया समेत गई उपचार गर्नुभएको थियो ।
असोज २० गते आफ्नै बुवा भिम बहादुरले उहाँलाई मृगौला दान गर्नुभएको थियो । मृगौलामा समस्या देखिए पश्चात् ध्रबिन्द्रका प्रेमी शिवानी तिरुवाले काठमाडौंमा सँगै रहेर उहाँलाई उपचारमा मुख्य सहयोग गर्दै आउनुभएको छ । अहिले ध्रबिन्द्र र उहाँका बुवाको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै आएको छ ।
जाजरकोट जन्मघर भएका ध्रबिन्द्र मध्यम वर्गीय परिवारका हुनुहुन्छ । सुरुदेखि हालसम्म विभिन्न व्यक्ति र संस्थाहरुद्वारा स्वेच्छिक सहयोग करिब ९ लाख, पारिवारिक श्रोत करिब ४ लाख, प्रत्यारोपण विपन्न सिफारिस ४ लाख, प्रत्यारोपण शल्यक्रिया गर्दासम्म ॠण करिव ६ लाख गरी जम्मा २२ लाख जति रकम खर्च भएको उहाँले बताउनु भएको छ ।
सानै उमेरदेखि सामाजिक – राजनैनिक सेवामा क्रियाशील ध्रबिन्द्रले झुठा मुद्दामा जेल जीवन समेत बिताउनु भएको छ । कम्युनिस्ट कार्यशैलीका ध्रबिन्द्रलाई उत्पीडित समुदायको मुक्तिका लागि कर्णालीबाट संघर्ष गर्ने अत्यन्त जुझारु युवा नेताका रुपमा चिनिन्छ ।
धन्यवाद पत्रको पूर्ण पाठ
धन्यवाद पत्र
जीवन यात्राका २८ औं वर्ष पूरा गरी २९ औं वर्षमा प्रवेश गरेसँगै पुनः जीवन प्राप्त गरेको आज २० दिन पूरा भएका छन् । जिन्दगीसँग जोडिएका हाँसो-खुसीहरु विगत डेढ वर्षदेखि स्वास्थ्य समस्यासँग लड्दालड्दै मलिन हुन पुगे । अन्ततः अंग दान गर्ने बाबाको महानता र हिम्मत, प्रीयसी शिवाको निरन्तर हौसला र साथ, अनि घर परिवार तथा आफन्तको साथ र हौसलासँगै करिब तेह्र महिनाको हेमोडायलाइसिस पश्चात् मृगौला प्रत्यारोपण गरी सामान्य स्वास्थ्य अवस्थामा फर्केको यस सुखद क्षणमा खुशी व्यक्त गर्दछु ।
मेरो उपचारको लागि पहिलो चरणको आर्थिक सहयोग अभियानमा जोडिएर जाजरकोट देखि सहयोग गर्नुहुने मेरो अभिभावक तथा मित्र श्री धनजित महर (बारेकोट ताँसी), पत्रकार श्री केवि दर्शन (बारेकोट रोकायगाउँ), युवा-विद्यार्थी श्री प्रखर (बारेकोट मुल्साम), श्री विज्ञान (बारेकोट मुल्साम), संञ्चारकर्मी श्री प्रेम विश्वकर्मा (भेरी रावतगाउँ), श्री विष्णु महर (बारेकोट कालाखोली), युवा-विद्यार्थी श्री डम्बर विश्वकर्मा (बारेकोट ताँसी) लगायत स्थलगत आर्थिक अभियानमा जोडिनु भएका श्री आनन्द बि.क. (बारेकोट गोठगाउँ), गणेश पहाडी (बारेकोट मुल्साम) तथा दोश्रो चरणको आर्थिक सहयोगमा जोडिनु हुने नवराज सिहं (बारेकोट जिरी हाल मलेसिया), विष्णु नेपाली (बारेकोट जम्क) र नित्यकार सविना सिहं (कुशे जन्ताला) प्रति हृदय देखि आभारी छु ।
यसैगरी श्री नवराज सिहं (बारेकोट जिरि) कै पहलमा Khabar Buletin TV युटुब च्यानलका सञ्चालक श्री नवराज न्यौपाने र उहाँको टिम जसले मेरो समस्यालाई रेकर्ड गरेर सहयोगी मनहरुसम्म पुर्याउन खेल्नु भएको भुमिकालाई सम्झिरहेको छु । उपचारकै क्रममा आर्थिक समस्याले गाँजेको बेला देश तथा विदेशमा रहनुहुने तमाम सहयोगी मनहरुसम्म मेरो समस्यालाई देखार आर्थिक सहयोग जुटाउन विशेष भुमिका खेल्नुहुने पत्रकार श्री भोजराज थापा र उहाँको टिमप्रति पनि कृतज्ञ छु । प्रदेशी भुमिमा श्रम-पसिना बगाउँदा-बगाउदै आफू र आफुले काम गर्ने कम्पनीका श्रमिकहरुसँग समन्वय गरी आर्थिक सहयोग अभियान चलाउनुहुने श्री राजकुमार आठपरिहा राई (भोजपुर घर भइ हाल कुवेत) प्रति पनि उतिकै ॠणी छु ।
प्रत्यारोपणको विशेष क्षणमा इन्द्रेणी कार्यक्रमसम्म पुग्न विशेष भुमिका खेल्नुहुने जाजरकोट बारेकोट घर भई हाल कोहलपुर कर्मथलो बनाउनु भएका युवा समाजसेवी श्री ललित पहाडी ज्युको सहयोग तथा मनकारी मान्छेसम्म हाम्रो समस्यालाई भिडियो मार्फत पुर्याउन सहयोग गर्नुभएकोमा श्री कृष्ण कंडेल ज्यु र इन्द्रेणी टिमप्रति पनि उत्तिकै आभार प्रकट गर्दछु । उपचारको सुरुवाती चरणमा काठमाडौंमा बस्नखान व्यवस्थापन र सहयोग गर्नुहुने बहिनी चन्दा ओलि चलाउने र कल्पना बस्नेतप्रति हृदयदेखि सम्मान व्यक्त गर्दछु । भारतमा एक महिनाको उपचारमा आफ्नो काम चटक्कै छाडेर रातदिन नभनी सहयोग गर्ने बिट्टु भाइलाई कहिल्यै बिर्सन सक्दिन । बिरामी हुँदा डोल्पा देखि काठमाडौंसम्म पुग्न मद्दत गर्नुहुने श्री अर्जुन ओलि (नलगाड) र श्री भक्त शाही (नलगाड घर भई हाल डोल्पा) तथा उहाँको परिवारलाई पनि हृदय देखि सम्झिन्छु ।
उपचारको सुरुवातदेखि प्रत्यारोपणसम्म आउदा वीर हस्पिटल, गंगालाल, तिलगंगा, एनकेसी (गौशाला शाखा), भक्तपुर हस्पिटल र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा चेकजाँच, सल्लाह सुझाव, डाएलाइसिस र विभिन्न शल्यक्रियामा संलग्न चिकित्सक, नर्स तथा हस्पिटल प्रशासनप्रति कृतज्ञता प्रकट गर्दछु । शल्यक्रियाको समयमा हस्पिटलमा उपस्थित भई ब्लड व्यवस्थापन तथा अन्य सहयोगमा संलग्न श्रमिक मोर्चाका साथीहरू, मुनि विहारका भान्त्य ज्यु, लगायत सबैप्रति आभारी छु ।
अन्ततः उपचारको क्रममा सुरुवात देखि देश तथा विदेशबाट प्रत्यक्ष भेटेर सहयोग गर्नुहुने ६५ जना, ईसेवा मार्फत सहयोग गर्नुहुने ९७ जना, बैंक खाता तथा मोबाइल बैङ्किङ मार्फत सहयोग गर्नुहुने ६२५ जना लगाएत स्थलगत तथा अनलाईन आर्थिक सहयोग अभियान्तासँग जोडिएर आर्थिक सहयोग गरी मेरो मृगौला प्रत्यारोपणको शल्यक्रियालाई सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी दाजुभाई दिदिबहिनीहरुप्रति हृदयदेखि हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
धन्यवाद ! १० कार्तिक २०८१