आमा तिमी महान छौ

(कविता)

आमाहरूको पनि आमा
हजारौं लाखौं वीरहरुको
आमा भएकी छ्यौ तिमी
आमा मेरो मात्रै कहाँ हो र ?
म हरेक दिन, हरेक पल
तिम्रो त्यो मलिन अनुहार
झलझली सम्झिरहन्छु
बिरामी भएर  छट्पटी रहँदा
एक ट्याब्लेट सिटामोल
एक गिलास पानी नपाउँदा
घरिघरि आँखाभरि आँसु
मनभरि पीडा लुकाउँदै
क्रान्तिका राता मान्छेहरुको बिचमा
हजारौं-लाखौंहरुको भीडमा
मन्द मुस्कानले बिदाइ गर्दै
विजयको शुभकामना दिएको
भर्खर झैं लाग्छ आमा,

 

स्वाभिमानसंगै अस्तित्व जोगाउन
देशको शिर उच्च राख्न
शिरमा रातो कफन बाँधेर
मुक्ति या मृत्यु भन्दै
क्रान्तिको महासमरमा म हिंड्दै गर्दा
तिमी भित्रभित्रै हजारौं पीडा लुकाउँदै
पल्लाघरे मुखियाको छोरा जस्तै
तल्लाघरे सुब्बाको छोरा जस्तै
माथिल्लाघरे काजीको छोरा जस्तै
तिमीले मलाई धन कमाउन
विदेश पठाएनौ आमा
मुखिया, सुब्बा, काजीका छोराहरु
यूरोप, अमेरिका, कोरिया गए
दुबई, मलेसिया र साउदी गए
आमा तिमीलाई थाहा छ नि
मुखिया, सुब्बा र काजीको छोराले

विदेश गएर पैसा कमाए
पैसासंगै अस्मिता बेचे
सहरमा ठूलो घर पनि बनाए
घरसंगै आफ्नो स्वाभिमान गुमाए
आफ्नो पहिचान, संस्कार र संस्कृति भुले,

 

आमा तिमी महान छौं
त्यसैले त आमा तिमी महान छौ
आमाहरुको पनि आमा भयकी छौ
हजारौं लाखौं वीरहरुको आमा बनेकी छौ
यदि तिमिले हजारौं दु:ख नझेलेको भए
तिमीजस्तै हजारौं विधुवा कहाँ हुने थिए र ?
लाखौं क्रान्तिका सिपाही कहाँ जन्मिने थिए र ?
धमिला आँखामा पनि सपनाको
उज्यालो चहक नदेखेको भए
अर्काको मुलुकमा पसिना बगाउन
निस्ठुरी जस्तै तिम्रो हितको परानी
छोरा तिमिले पनि पठाएको भए
पराईको लाखमा
घिनले बाँच्नु र मर्नु जस्तै त हुने थियो

 

तिम्रो काखमा हाँसीहाँसी ज्युँन नसके पनि
स्वाभिमानको गर्विलो इतिहास कोर्नु छ
तमाम विभेद हटाउन, अझै बाँकी छ
असमानताको रेखा मेटाउनु छ
विदेशिएकालाई स्वदेश फर्काउनुछ
नयाँ संस्कार, संस्कृति निर्माणसंगै
विश्वासको नयाँ सपना जगाउनुछ

तिम्रा ती हजारौं संघर्ष सार्थक बनाउन
हजारौं, लाखौं योद्धाहरु
मेची,महाकाली,हिमाल,पहाड,तराई
जताततै निरन्तर लडिरहेका छन्
तिम्रा गीत मुक्त कण्ठले गुञ्जिरहेछन्
तिम्रो महानताको गीत गुञ्जिरहेछन् आमा,
त्यसैले आमा तिमी महान छौं ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation