एकपटक सत्ता चलाउने अधिकार नेकपाको छ : विप्लव सी

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी.ले ‘एकपटक सत्ता चलाउने अधिकार नेकपाको छ’ भनी जिकिर गर्नुभएको छ । लुम्बिनी प्रदेशको राजनैतिक एवम् वैचारिक प्रशिक्षण कार्यक्रममा प्रमुख आतिथिको रुपमा बोल्दै उहाँले सो जिकिर गर्नुभएको हो ।

देश र जनताको समस्यामा निरन्तर लड्दै आइरहेको पार्टी भएको हुँदा नेकपालाई सत्ता चलाउने अधिकार भएको कुरा उहाँले स्पष्ट पार्नुभयो । “नेकपाले एक दशक अगाडि यो व्यवस्थाबाट चल्दैन भनेको कुरा अहिले आएर पुष्टि भएको छ किनकी अहिले सबै पार्टीहरु समाजवाद चाहिन्छ भन्ने ठाउँमा आइपुगेका छन् “, उहाँले थप स्पष्ट गर्नुभयो । सबैले नेकपालाई एकपटक हेर्न खोजेको समेत उहाँले बताउनु भयो ।

पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लव सी.ले चुनावलाई क्रान्तिको एउटा मोर्चाको रुपमा प्रयोग गर्नुपर्ने समेत स्पष्ट पार्नुभएको छ ।

 

 

“अहिले देशको परिस्थिती विकराल बनेको छ त्यो कसैलाई मनपरेको छैन, सबैमा असन्तुष्टि बढेको छ, जनता भौंतारिरहेका छन र सापेक्षित रुपले कसले राम्रो गर्छ भनेर राम्रा र सकारात्मक पद्धति अनि सहि नेतृत्व खोहिरहेका छन् त्यसकारण अब हामीले जनतालाई सही नेतृत्व प्रदान गर्नुपर्छ र त्यसको निमित्त हामी लाग्नुपर्छ ।

 

देशलाई भागबन्डा गरेर सिध्याउन लागेका छन् । देश नेतृत्व विहिन भएको छ जनताले असल अभिभावक खोजिरहेका छन। हामिले अब देशलाई जनतालाई असल अनि नयाँ नेतृत्व दिनुपर्छ । अहिले हामी दलाल पुंजिवादी सत्ताबाट यो देश र व्यवस्था चल्दैन भन्ने कुरा स्थापित गर्न सफल भएका छौं यो कुरालाई प्रमाणित गर्नैका लागी हामिले चुनावमा भाग लिनुपर्छ र देशलाई सहि नेतृत्व दिनुपर्छ”, उहाँले भन्नुभयो ।

 

 

नेकपाले नयाँ आर्थिक दृष्टिकोण सहित उत्पादनलाई अगाडि बढाइरहेको कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण रहेको समेत उहाँले दाबी गर्नुभयो । राजनैनिक, आर्थिक, सांगठनिक र सांस्कृतिक सबै क्षेत्रमा नेकपाले सशक्त अभियान सञ्चालन गर्ने समेत उहाँले बताउनु भयो । यतिबेला क्रान्तिका लागि राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय परिस्थिति निकै अनुकूल बनेको समेत उहाँले स्पष्ट गर्नुभयो ।

प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशका १० वटा जिल्लाबाट नेताकार्यकर्ताहरु सहभागी भएका थिए । कार्यक्रममा लुम्बिनी सामना साँस्कृतिक परिवारको गीत र नृत्य समेत प्रस्तुत गरिएको थियोे । पार्टी पोलिट व्युरो सदस्य प्रज्वलन सी.को सञ्चालन, सञ्जीव सी.को स्वागत र प्रदेश इन्चार्ज तथा स्थायी समिति सदस्य विषम सी.को अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation