समाजवादी मोर्चाको कार्यक्रममा दलित संगठनहरुको ऐक्यबद्धता

काठमाडौं । समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको चैत्र १५ को जनप्रदर्शन तथा जनसभामा समाजवादी दलित मोर्चा नेपालले ऐक्यबद्धता जनाएको छ । मोर्चाले आज एक विज्ञप्ति मार्फत ऐक्यबद्धता जनाएको हो ।

मोर्चाका संयोजक रामलाल सीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आम दलित समुदाय, किसान, मजदुर, युवा, महिला, उत्पीडित जाति, जनजाति, मधेसी, मुस्लिम, मध्यमवर्ग, राष्ट्रवादी शक्ति लगायत  सम्पूर्ण न्यायप्रेमी जनतालाई कार्यक्रममा सहभागी हुनका निम्ति अपील गरिएको छ ।


समाजवादी मोर्चा नेपालले शुक्रबार गणतन्त्र र समाजवादको पक्षमा काठमाडौंको विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी गरेको छ । भृकुटीमण्डपमा सभा गरिने जुलुस कोटेश्वर, बबरमहल, माइतीघर, कुपोन्डोल, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, न्युरोड, सोह्रखुट्टे, मैतीदेवी लगायत स्थानबाट जुलुस निकाल्ने बताइएको छ ।

सभालाई समाजवादी मोर्चा नेपालका पार्टीहरु : माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा मोर्चाका संयोजक विप्लव सी, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव लगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

 

पछिल्लोपटक राजावादीहरुको गतिविधिले जनतामा भ्रम पर्न थालेपछि समाजवादी र गणतन्त्रवादीहरुले पनि सक्रियता बढाएको बुझिएको छ । राजतन्त्र पुनर्स्थापनाका लागि इन्डियाका हिन्दुवादी नेता र पार्टीहरू समेत लागिपरेका समाचार बाहिरिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 आवाज पोस्ट All right reserved Site By : Himal Creation