नक्कली सवारी चालक अनुमतिपत्र प्रकरणमा संलग्न ४ जना पक्राउ

 

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संयुक्त टोलीले नक्कली सवारी चालक अनुमति पत्र वितरणमा संलग्न रहेको आरोपमा बाँकेको नेपालगञ्जबाट चार जनालाई पक्राउ गरेको छ ।

आयोगको टंगालस्थित केन्द्रीय कार्यालय, बुटवल कार्यालय र नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले यातायात व्यवस्था कार्यालय, नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेट (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जका नायब सुब्बा मुकुन्दराज के. सी. र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगञ्जका प्रोप्राइटर शरद कुमार गोराचोकीलाई नियन्त्रणमा लिएको हो ।

आयोगलाई प्राप्त उजुरी र सूचनाका आधारमा, पक्राउ परेका व्यक्तिहरूले मासिक तीन करोड रुपैयाँभन्दा बढी रकम संकलन गरी नक्कली सवारी चालक अनुमति पत्र वितरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूले प्रयोग गर्दै आएका विद्युतीय उपकरणहरू समेत बरामद गरिएको आयोगले जनाएको छ ।

हाल उनीहरूलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिई आवश्यक प्रक्रिया अघि बढाइएको छ । आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले सार्वजनिक गरे अनुसार, यस प्रकरणमा संगठितरूपमा सरकारी संयन्त्रको दुरुपयोग भएको देखिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 आवाज पोस्ट All right reserved Site By : Himal Creation