पाल्पाको विभिन्न स्थानमा मोर्चाको कोणसभा सम्पन्न

पाल्पा । नेपाल कम्युनिष्ट पार्टीसहितको चार दलीय संयुक्त मोर्चाले पूर्व घोषित कार्यक्रम अनुसार आज काठमाण्डौ सहित देशको विभिन्न ठाउँमा कोणसभा सम्पन्न गरेको छ । त्यसैगरी पाल्पा जिल्लाको तिनाउ, रिब्दिकोट, रामपुर लगायतका स्थानमा मोर्चा र राष्ट्रिय जनमोर्चा पार्टीले संयुक्त कोणसभा सम्पन्न गरेका छन् ।परमादेशको देउवा सरकारले दिन प्रतिदिन राष्ट्रघात गर्दै गएको, जनादेश विपरीत एमसिसी पास गरेको, नागरिकता विधेयक पास गरेको, एसपिपी पास गर्ने तरखरमा लागेको, जनताको ढाड सेक्नेगरि मूल्यवृद्धि गरेको लगायत विषयमा सभाले विरोध गरेको छ । सभामा नेकपा जिल्ला सेक्रेटरी मिन बहादुर आले, जिल्ला सचिवालय सदस्य आकाश थापा, जिल्ला सदस्य राजिव भट्टराई, जिल्ला सल्लाहकार टोप बहादुर बिक, तिनाउको सभामा राष्ट्रिय जनमोर्चाका जिल्ला नेता जग बहादुर क्षेत्री लगायतले विरोध मन्तव्य राखेका थिए ।

चार दलीय कम्युनिष्ट मोर्चालाई रणनीतिक मोर्चाको रुपमा विकास गर्दै जाने सहमति समेत गरेको मोर्चाले राष्ट्रिय स्वाधीनता, जनअधिकार र जनजीविकाको विषयमा चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । जस अन्तर्गत संघर्षका कार्यक्रमहरु यसप्रकार छन् :
१) साउन १० गते संयुक्त पत्रकार सम्मेलन
२) साउन १३ गते देशव्यापी कोणसभा
३) साउन १५ गते देशव्यापी मशाल जुलुस
४) साउन १८ गते काठमाडौँमा अन्तरक्रिया
५) साउन २१ गते प्रदेश सदरमुकाम र काठमाडौँमा विरोध प्रदर्शन ।
उल्लेखित कार्यक्रमहरु पश्चात् मोर्चाले थप उच्च स्तरको जनसघर्षका कार्यक्रमहरु घोषणा गर्ने समेत जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation