
काठमाडौं । प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल विश्वकर्माले दैलेख जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा उम्मेदवारी दर्ता गर्नु भएको छ । उहाँले आज गृहजिल्ला पुगेर नेकपा (माओवादी) को तर्फबाट उम्मेदवारी दर्ता गर्नुभएको हो ।

विश्वकर्मा विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य र राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । उहाँलाई उत्पीडित वर्ग – समुदाय प्रति इमानदार एवम् स्वच्छ छविका नेताका रुपमा चिनिन्छ ।

जनयुद्ध कालदेखि नै व्यक्तिगत सुख, सुविधा त्यागेर निरन्तर देश र जनताको पक्षमा अतुलनीय योगदान पुर्याउँदै आइरहेको हुँदा जनताले आफूलाई मत दिएर यसपटकको चुनावमा जिताउने विश्वास विश्वकर्माले व्यक्त गर्नुभयो ।
दैलेखमा हाल कांग्रेस, एमाले र माओवादीको सांगठनिक अवस्था करिबकरिब बराबरी जस्तो मानिएको छ । आगामी फागुन २१ गते देशभरका १६५ निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ ।











