पाल्पाको तानसेनमा पनि मोर्चाले गर्‍यो मसाल जुलुस

पाल्पा। नेपाल कम्युनिष्ट पार्टीसहितको चार दलीय संयुक्त मोर्चाले पूर्व घोषित कार्यक्रम अनुसार आज काठमाण्डौ सहित देशको विभिन्न ठाउँमा मसाल जुलुस गरेको छ । त्यसैगरी पाल्पाको सदरमुकाम तानसेनमा पनि  मोर्चाले मसाल जुलुस गरेको छ ।

देउवा सरकारले दिन प्रतिदिन राष्ट्रघात गर्दै गएकोमा विरोध स्वरुप मोर्चाले उक्त जुलुस गरेको जानकारी नेपाल कम्युनिष्ट पार्टी पाल्पा जिल्ला सेक्रेटरी मीन ब आलेले दिएका छन् । परमादेशको देउवा सरकारले जनादेश विपरीत एमसिसी पास गरेको, नागरिकता विधेयक पास गरेको, एसपिपी पास गर्ने तरखरमा लागेको, जनताको ढाड सेक्नेगरि मूल्यवृद्धि गरेको, नेपाल कम्युनिष्ट पार्टीसंगको ३ बुँदे सहमति अनुसार बन्दी रिहाई र झुठा मुद्दा  खारेज नगरेको लगायत विषयमा मोर्चाले विरोध जनाएको छ ।

चार दलीय कम्युनिष्ट मोर्चालाई रणनीतिक मोर्चाको रुपमा विकास गर्दै जाने सहमति समेत गरेको मोर्चाले राष्ट्रिय स्वाधीनता, जनअधिकार र जनजीविकाको विषयमा चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । जस अन्तर्गत संयुक्त संघर्षका कार्यक्रमहरु यस्तो छ :
१) साउन १० गते संयुक्त पत्रकार सम्मेलन
२) साउन १३ गते देशव्यापी कोणसभा
३) साउन १५ गते देशव्यापी मशाल जुलुस
४) साउन १८ गते काठमाडौँमा अन्तरक्रिया
५) साउन २१ गते प्रदेश सदरमुकाम र काठमाडौँमा विरोध प्रदर्शन ।
उल्लेखित कार्यक्रमहरु पश्चात् मोर्चाले थप उच्च स्तरको जनसघर्षका कार्यक्रमहरु घोषणा गर्ने समेत जनाएको छ ।


 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2023 आवाज पोस्ट All right reserved Site By : Himal Creation