भाकपा (माओवादी)का पछिल्ला महत्वपूर्ण दस्ताबेज

पाल्पा।भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका साथै भारतीय नयाँ जनवादी क्रान्तिसित सम्बद्ध रणनीतिक तथा कार्यनीतिक प्रश्नसित सम्बन्ध केही महत्वपूर्ण दस्ताबेजहरू प्रकाशमा ल्याएको छ । यी दस्ताबेजहरू आन्तरिक तहमा अध्ययन र बहसछलफलका लागि सन् २०१७ मै प्रकाशनमा ल्याएको थियो । अहिले तिनमा केही परिमार्जनका साथ आधिकारिक रूपमा आम पाठकबीच ल्याएको छ । यी दस्ताबेजहरूबाट भाकपा (माओवादी) का राष्ट्रिय-अन्तर्राष्ट्रिय क्षेत्रका साथै भारतीय क्रान्तिका सम्बन्धमा पछिल्ला धाराणाहरूको जानकारी पाउन सकिन्छ ।

प्रकाशित दस्ताबेजहरूमा अन्तर्राष्ट्रिय सन्दर्भमा दुइटा दस्ताबेजहरू छन्—एउटा ‘चाइना–सोसियल–इम्पेरियलिस्ट पावर ! इट इज इन्टेग्रल टु द वल्र्ड क्यापिटलिस्ट–इम्पेरियलिस्ट सिस्टम’ हो र अर्को ‘आवर स्ट्यान्ड अन द फर्मेसन अफ ऐन इन्टनेसनल अर्गनाइजेसन अफ द प्रोलेटरियट’ हो । त्यसै गरी राष्ट्रिय तीनवटा दस्ताबेजहरू छन्— ‘कास्ट क्वेइस्चन इन इन्डिया-आवर पर्सपेक्टिव्स’, ‘नेस्नलिटी क्वेइस्चन इन इन्डिया-द स्ट्यान्ड अफ आवर पार्टी’ र ‘चेन्जेज इन रिलेसन्स अफ प्रोडक्सन इन इन्डिया’ ।

‘चाइना-सोसियल-इम्पेरियलिस्ट पावर ! इट इज इन्टेग्रल टु द वल्र्ड क्यापिटलिस्ट-इम्पेरियलिस्ट सिस्टम’ सन् २०१७ मा छलफलका लागि ल्याइएको दस्ताबेज हो र यसलाई सन् २०२१ मा थप परिमार्जित गरी हिन्दीमा समेत प्रकाश गरिएको छ । ९ वटा उपशीर्षकमा विभाजित यो दस्ताबेजले माओको मृत्युपछि चीनमा प्रतिक्रिान्ति भएको, यसले पुँजीवादी बाटो समातेको र अब यो सामाजिक साम्राज्यवादमा परिणत भएको कुराको विश्लेषण गरिएको छ ।

‘आवर स्ट्यान्ड अन द फर्मेसन अफ ऐन इन्टनेसनल अर्गनाइजेसन अफ द प्रोलेटरियट’ आरसिपी, अमेरिकाले ‘न्यु सिन्थेसिस ’ का नाममा विसर्जनवादको बाटो अँगालेपछि र प्रचण्ड एन्ड कम्पनीले महान् नेपाली जनता र जनयुद्धप्रति गद्दारी गरेपछि विघटनको स्थितिमा पुगेको माओवादीहरूको केन्द्र ‘रिम’ को विघटनपछि कसरी नयाँ किसिमले विश्वका माओवादीहरूको केन्द्र निर्माण गर्ने भन्ने विचारसित सम्बद्ध महत्वपूर्ण दस्ताबेज हो । यसमा इतिहासबाट शिक्षा लिएर र फेरिएको विश्वपरिस्थितिलाई ध्यानमा राखेर माओवादीहरूको केन्द्र निर्माण गर्नुपर्ने कुरामा जोड दिइएको छ ।

त्यसै गरी राष्ट्रिय तहसित सम्बद्ध दस्ताबेज ‘कास्ट क्वेइस्चन इन इन्डिया–आवर पर्सपेक्टिव्स’ मा भारतमा जलेबल्दो रूपमा रहेको ‘कास्ट क्वेइस्चन’ खास गरेर दलितसित सम्बद्ध प्रश्नलाई कसरी वर्गीय मुक्तिको प्रश्नसित जोडेर हल गर्न सकिन्छ भन्ने धारणा अघि सारिएको छ । ८ वटा अध्यायमा समेटिएको यो दस्ताबेजलाई हिन्दीमा समेत प्रकाशित गरिएको छ ।

‘नेस्नलिटी क्वेइस्चन इन इन्डिया–द स्ट्यान्ड अफ आवर पार्टी’ शीर्षकको दस्ताबेज तीन उपशीर्षकमा विभाजित छ । यस दस्ताबेजमा भारतीय समाजको समग्र इतिहास, जातीय (नेस्नालिटी) स्थिति, नयाँ जनवादी क्रान्ति र त्यसपछिको स्थितिका सम्बन्धमा विस्तृत चर्चा गरिएको छ ।
त्यसै गरी ‘चेन्जेज इन रिलेसन्स अफ प्रोडक्सन इन इन्डिया’ महत्वपूर्ण दस्ताबेज हो । यसमा भारतीय समाजको बदलिँदो स्वरूप, उत्पालन सम्बन्ध र उत्पादन शक्तिको स्थिति, अन्तर्विरोध र क्रान्तिको स्वरूपका बारेमा विस्तृत चर्चा गरिएको छ । विभिन्न उपशीर्षकमा २७२ पृ.मा समेटिएको यो दस्ताबेज भारतीय समाजको स्थिति र क्रान्तिको दिशाका साथै नेपाली समाज र क्रान्तिका सन्दर्भमा पनि लाभदायी दस्ताबेज हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पक्षसित सम्बद्ध विविधि विषयमा गहन अध्ययन–अन्वेषण गरेर तयार पारिएका यी दस्ताबेजहरू भारतका सन्दर्भमा मात्र नभएर आजको विश्वक्रान्तिका सम्बन्धमा पनि महत्वपूर्ण दस्ताबेज हुन् । भाकपा (माओवादी) ले सन् २००७ मै महिला सम्बन्धी अध्ययन–दस्ताबेज प्रकाशित गरिसकेको हो । त्यसै गरी भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले आफ्नो पार्टी र विश्वका उत्पीडित जनताको स्कुलिङका लागि ‘माक्र्सिज्म–लेनिनिज्म–माओइज्म स्टडी नोट्स’ र ‘माक्र्सिज्म-लेनिनिज्म-माओइज्म बेसिक कोर्स’ प्रकाशित गरेको यथार्थ पनि यहाँ स्मरणीय छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation