नेकपा, तिनाउ ४ पाल्पाको वडा भेला सम्पन्न

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी तिनाउ गाउँ कमिटी अन्तर्गत ४ नम्बर वडाको भेला आज सत्यवतीमा सम्पन्न भएको छ । भेलाले टेकम दर्लामीको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी निर्वाचित गरेको छ । भेलाका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी, पाल्पा जिल्ला सचिवालय सदस्य निशान बिकले समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिए । स्थानीय स्तरमा बढ्दै गइरहेको भ्रष्टाचार र बेतिथिका विरुद्ध प्रतिकार संघर्ष गर्नका निम्ति बिकले भेलामा उपस्थित सबैलाई निर्देशन समेत दिए ।

भेलाका अतिथिहरु नेपाल कम्युनिष्ट पार्टी पाल्पा जिल्ला सदस्य तथा तिनाउ गाउँ कमिटी इन्चार्ज राजिव भट्टराई र तिनाउ गाउँ सेक्रेटरी भानु दर्लामीले पार्टीको नवौं महाधिवेशन लक्षित अभियानमा सहभागी हुनका निम्ति आग्रह गरे । त्यसैगरी पार्टीले सञ्चालन गरेको राष्ट्रिय र वर्गीय संघर्षमा अग्रसर भएर लाग्न पनि अतिथिहरुले सबैलाई निर्देशन दिए । भेलामा मगर मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला संयोजक गणेश रानाले सञ्चालन र युवा संगठन नेपालका तिनाउ गाउँ सदस्य बोम दर्लामीले स्वागत भाषण गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी, पाल्पाले जिल्लाको १० वटै गाउँपालिका र वडाहरुको भेला, सम्मेलन साउन अन्तिमसम्म सम्पन्न गरिसक्ने कार्यक्रम रहेको कुरा जिल्ला सेक्रेटरी मिन बहादुर आलेले बताए । त्यसैगरी भदौ १० गते पार्टीको पाल्पा जिल्ला सम्मेलन गर्ने पनि आलेले बताए । असोज १ गते काठमाण्डौमा हुने नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशन उन्मुख राजनैतिक, सांगठनिक, आर्थिक लगायत अभियान पाल्पामा सशक्त रूपमा सञ्चालन भइरहेको जानकारी समेत सेक्रेटरी आलेले दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation