विभिन्न कमिटी निर्माण गर्दै नेकपाको तिनाउ गाउँ भेला सम्पन्न

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी तिनाउ गाउँ कमिटीको भेला आज दोभानमा सम्पन्न भएको छ । भेलाले गाउँ कमिटी स्तरमा विभिन्न कमिटीहरु गठन र पुनर्गठन गरेको छ । भानु दर्लामीको नेतृत्वमा १५ सदस्यीय तिनाउ गाउँ कमिटी निर्वाचित गरेको छ । झपिन्द्र नेपालीको नेतृत्वमा २ नम्बर वडा कमिटी र मनोज विश्वकर्माको नेतृत्वमा ३ नम्बर वडा कमिटी निर्माण गरेको छ । भेलाले टेकम दर्लामीको नेतृत्वमा २१ सदस्यीय तिनाउ युवा संगठन पुनर्गठन गरेको छ । कुसल बिकको नेतृत्वमा श्रमिक मोर्चा तिनाउ गाउँ कमिटी र मोहन बिकको नेतृत्वमा जनपत्रकार संगठन तिनाउ गाउँ कमिटी निर्माण गरेको छ ।

भेलाका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी, पाल्पा जिल्ला सेक्रेटरी मीन बहादुर आलेले समसामयिक राजनीतिक विषयमा सहभागीहरुलाई प्रशिक्षण दिए । स्थानीय स्तरमा बढ्दै गइरहेको भ्रष्टाचार र बेतिथिका विरुद्ध प्रतिकार संघर्ष गर्नका निम्ति आलेले भेलामा उपस्थित सबैलाई निर्देशन समेत दिए । भेलाका अतिथि नेपाल कम्युनिष्ट पार्टी पाल्पा जिल्ला सचिवालय सदस्य निशान बिकले देश र जनताको मुक्ति एवम् वैदेशिक हस्तक्षेपका विरुद्ध सबै देशभक्त र श्रमजिवी जनताहरु एकजुट भएर संघर्ष गर्नुपर्ने बताए ।
नेकपा पाल्पा जिल्ला सदस्य तथा तिनाउ गाउँ कमिटी इन्चार्ज राजिव भट्टराई र नेकपा जिल्ला सल्लाहकार टोपबहादुर बिकले पार्टीको नवौं महाधिवेशन लक्षित अभियानमा सहभागी हुनका निम्ति सबैलाई आग्रह गरे । त्यसैगरी पार्टीले सञ्चालन गरेको राष्ट्रिय र वर्गीय संघर्षमा अग्रसर भएर लाग्न पनि अतिथिहरुले सबैलाई निर्देशन दिए ।

मगर मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला संयोजक गणेश रानाको सञ्चालन र तिनाउ गाउँ सेक्रेटरी भानु दर्लामीको अध्यक्षतामा भेला सम्पन्न भएको हो । नेकपा तिनाउ गाउँ कमिटी सदस्य मनोज बिकले भेलामा उपस्थितलाई स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी, पाल्पाले जिल्लाको १० वटै गाउँपालिका र वडाहरुको भेला, सम्मेलन साउन अन्तिमसम्म सम्पन्न गरिसक्ने कार्यक्रम रहेको कुरा जिल्ला सेक्रेटरी मिन बहादुर आलेले बताए । त्यसैगरी भदौ १० गते पार्टीको पाल्पा जिल्ला सम्मेलन गर्ने पनि आलेले बताए । असोज १ गते काठमाण्डौमा हुने नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशन उन्मुख राजनैतिक, सांगठनिक, आर्थिक लगायत अभियान पाल्पामा सशक्त रूपमा सञ्चालन भइरहेको जानकारी समेत सेक्रेटरी आलेले दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation