अपमानजनक नाम र थर सच्याउन गृहको निर्देशन

पाल्पा।दलित/श्रमिक समुदायको अपमानजनक शब्द (नाम र थर) सच्याउन गृह मन्त्रालयले आज एक विज्ञप्तिमार्फत निर्देशन दिएको छ । गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउनु भनिएको छ । विभिन्न माध्यमबाट दलित/श्रमिक समुदायको अपमानजनक नाम र थर सच्याउन दवाब बढेपछि गृहले एक विज्ञप्ति जारी गर्दै उक्त निर्देशन दिएको हो ।

विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा हाल दलित/ श्रमिक समुदायका अपमानजनक नाम र थरहरु सार्वजनिक भइरहेका छन् । साथै त्यस किसिमका नाम र थरहरु सच्याउन सरोकारवालाहरुले माग गरिरहेका छन् । सोमबार नेकपा (माओवादी केन्द्र) का सांसद भुवन बहादुर सुनारले दलित समुदायका व्यक्तिहरूको नागरिकतामा अपमानपूर्वक राखिएको नामहरु सच्याउन माग गरेका छन् । राष्ट्रिय सभा बैठकको विशेष समयमा सांसद सुनारले दलित समुदायका व्यक्तिहरूलाई नागरिकता दिँदा अपमानपूर्वक नाम राखिएको भन्दै आपत्ति जनाए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट श्रमिक समुदाय मोर्चा नेपालले अपमानजनक थर सच्याउनका निम्ति सशक्त अभियान चलाउने घोषणा गरेको बताएको छ । सोही अनुरुप मोर्चा, गण्डकी प्रदेश समन्वय समितिले असार १७ गते कास्की प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा दलित/श्रमिक समुदायका अपमानजनक थरहरु कानुनले व्यवस्था गरेअनुसार सच्याउन माग गरिएको छ । अपमानजनक थर सच्याउने व्यवस्था कानून मै भएकोले व्यवहारमा कार्यान्वयनका निम्ति देशैभर अभियान सञ्चालन गर्ने मोर्चाको योजना रहेको कुरा मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल विश्वकर्माले जानकारी दिए ।

राष्ट्रिय सभा बैठकको विशेष समयमा सांसद सुनारले दूरदराजका दलित समुदायका व्यक्तिहरूको नाम तत्कालीन प्रशासनले बिगारिदिएको भन्दै उनीहरूको नाम सच्याउन गृहमन्त्रीसँग माग गरे । सुनारले यस्तो त्रुटिहरूको खोजी गर्न राष्ट्रिय दलित आयोग र दलित अभियन्ताहरूलाई पनि आग्रह गरे।

‘यस्तो पनि नागरिकता हुन्छ ? यस्तो पनि लेख्न मिल्छ ? ती हाकिमहरू, ती फटाहाहरू यो देशमा एकथरि मान्छेलाई कति घृणा गर्न उद्धत हुँदा रहेछन् त ? कति अपमान गर्न उद्धत हुँदा रहेछन् त ? कति उनीहरुलाई खिस्सीट्युरी गर्ने, घृणा गर्न, अपमान गर्न चाहँदा रहेछन् त ? नागरिकता लिन जाँदा ती हाकिमहरूले केरकार गर्ने, सोधपुछ गर्ने गर्दछन् । अहिले पनि गर्दछन् । त्यो बेलामा पनि गरे होलान् । किन यस्तो नाम लेखेको, किन भनेनन् ? दूरदराजका जनतालाई नागरिकता दिँदा त्यस्तो लेख्न मिल्छ ?,’ उनले भने ।

सबै अपमानजनक नामहरू तत्काल सच्याउन पहल गर्न सांसद सुनारले गृहमन्त्रीलाई आग्रहसमेत गरेका छन् । उनले अगाडि भने, ‘यी नागरिकता सच्याउनलाई म गृहमन्त्रीसँग अनुरोध गर्दछु । तुरुन्त सच्याइनुपर्छ । र यस्तो खोजी गर्नलाई राष्ट्रिय दलित आयोगले अनुगमन गर्नु आवश्यक छ । राष्ट्रिय दलित आयोग तुरुन्त पुग्नुपर्छ । आयोगको अनुगमन र निगरानी पुगिरहेको छैन ।’

नागरिकतामा गलत नाम लेखिदिएर दलित समुदायको स्वाभिमानमाथि अपमान भएको सुनारले बताए । कथित माथिल्लो जातका ‘शिक्षित’ हाकिमहरूले निरक्षर दलितका नागरिकतामा अपमानजनक नाम लेखिदिएका छन् । उनीहरूले राखिदिएका नाम यस्तासम्म छन्– ‘फ्याउरो बादी, सिँगाने कामी, कुत्ता बादी, कुकुर्नी कमिनी, कुकुर कामी, रातो कामी, नौपुठे कामी, ढाले कामी, काली गासे, गोप्लो, लाटो, लुखुरी कामी, कल्चु कामी’ इत्यादि । सामाजिक सञ्जालमार्फत यस किसिमका अपमानजनक नाम र थरहरु अहिले सार्वजनिक भइरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation