सरकारको रवैया बमोजिम शान्ति वा प्रतिरोध संघर्ष -नेकपा

बुटवल । नेताहरुमाथि पक्राउ पुर्जी आदेश र आगामी संसदीय निर्वाचन घोषणा लगत्तै नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको तेह्रौं बैठक कपिलवस्तुमा सम्पन्न भएको छ । साउन २२ देखि २४ गतेसम्म बसेको बैठकले परिस्थितिको विश्लेषणसहित आगामी नीति र योजना तय गरेको कुरा केन्द्रीय सदस्य रामलाल विश्वकर्माले बताएका छन् ।

सरकार र नेकपाबीचको तीन बुँदे सहमति पार्टीले इमान्दारीपूर्वक लागु गरेको स्थितिमा महासचिव विप्लव लगायत नेताहरुमाथि भएको पक्राउ पुर्जी आदेशको तीव्र भत्सर्ना बैठकले गरेको छ । तीन बुँदे सहमति बमोजिम सरकारले सम्पूर्ण मुद्दाहरु खारेजी गरी बन्दी नेता कार्यकर्ताहरुलाई रिहा गर्नुको साटो उल्टै शीर्ष नेताहरूलाई पक्राउ पुर्जी आदेश जारी गर्नुमा सरकारको षडयन्त्र र बदनियत रहेको निष्कर्ष बैठकले निकालेको छ ।

बैठकले दुई कार्यनीति स्पष्ट गरेको छ । पहिलो : आफ्नो पार्टी तीन बुँदे सहमतिप्रति इमान्दार प्रतिबद्ध भएको अवस्थामा सरकारले ३ बुँदे सहमति पूर्ण रुपमा लागु गर्नुपर्ने, सहमति अनुसार तुरुन्त सम्पुर्ण मुद्दाहरु खारेज गरी सबै बन्दीहरु रिहा गर्नुपर्ने । त्यसका लागि आफ्नो पार्टी सरकारसँग आवश्यक संवादका लागि तयार रहने र सबै राजनीतिक पार्टी र शक्तिहरुसँग परामर्श गर्ने । दोस्रो : यदि सरकारले तीन बुँदे सहमति लागु नगर्ने हो भने जनसंघर्षमार्फत प्रतिरोध संघर्षको बाटो अपनाउने ।

बैठकले पक्राउ पुर्जी आदेशको विरुद्ध संसदमा आवाज उठाउने सबै सांसदहरु, विरोध व्यक्त गर्ने राजनीतिक पार्टी तथा नेतृत्वहरु, नागरिक अगुवा लगायत सबैलाई धन्यवाद व्यक्त गरेको छ ।

बैठकमा सहभागि एक केन्द्रीय सदस्यका अनुसार “हामी शान्तिपूर्ण तरीकाले आफ्ना कार्यक्रम गर्दा पनि सरकारले हामीलाई लखेट्नै खोजेको हो भने हामीले पनि बाध्य भएर सोच्नै पर्छ । यस विषयमा सरकारले आफ्नो धारणा स्पष्ट गरोस् अनि हामी पनि सोच्छौं ।” आगामी निर्वाचन बारे पार्टींको धारणाबारे अर्का केन्द्रीय सदस्यले भने,—“हामीले चुनावबारे सकारात्मक रुपले सोच्दै थियौं तर सरकारी वारेन्ट टाउकोमा बोकेर कसरी चुनावमा जाने ? पहिले सरकारले हाम्रो पार्टी र तीन बुँदे सहमतिप्रति कस्तो रबैया अपनाउँछ, त्यही अनुसार हाम्रो नीति हुन्छ, देशलाई जबरजस्ती युद्धमा धकेलेर आनन्दले चुनाव गर्ने सपना कसैले नदेखे हुन्छ ।”

नेकपाका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग इन्चार्ज प्रज्वलनले बैठक विशेष परिस्थितिमा सम्पन्न भएको, बैठकमा नेताहरुमाथिको पक्राउ पुर्जी आदेश र आगामी निर्वाचन, पार्टीको नवौं महाधिवेशनको तयारी, बन्दी रिहाई, महंगी भ्रष्टाचार, जनजीविकाका सवालमा आन्दोलन लगायतका विषयमा गम्भीर छलफल भएको बताए । उनले आगामी महाधिवेशनका लागि विधान र राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिदै पार्टीका सबै निकायको सम्मेलनमा अध्ययन र सुझावका लागि प्रस्तुत हुने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation