नेकपा रिब्दीकोट र तिनाउ – २ को भेला सम्पन्न

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी रिब्दीकोट गाउँ कमिटी र तिनाउ गाउँ कमिटी अन्तर्गत वडा नम्बर २ को भेला आज छुट्टाछुट्टै स्थानमा सम्पन्न भएको छ । भेलाले नयाँ कमिटीहरु समेत निर्वाचित गरेको छ। रिब्दीकोटको हार्थोकमा सम्पन्न भेलाले दामोदर अधिकारीको नेतृत्वमा १५ सदस्यीय रिब्दीकोट गाउँ कमिटी निर्वाचित गरेको छ । तिनाउ २ बगाहामा सम्पन्न भेलाले मिन ब. बि.क.को नेतृत्वमा ११ सदस्यीय तिनाउ २ नम्बर वडा कमिटी निर्वाचित गरेको छ ।

रिब्दीकोट गाउँ भेलाका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज अपेक्षाले देउवा सरकारले नेकपा संगको ३ बुँदे सहमति कार्यान्वयन गर्नमा गम्भीर नबनेको र वैदेशिक शक्ति केन्द्रको इसारामा नाचिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । सरकारले इमानदारिता नदेखाए परिणाम भयावह हुने कुरा अपेक्षाले बताए । भेलामा नेकपा पाल्पा जिल्ला सेक्रेटरी मिन बहादुर आलेले नेकपाको आगामी योजना बारेमा सबैलाई जानकारी दिए । नेकपा जिल्ला सचिवालय सदस्य आकाश थापाले शहिदको सपना पुरा गर्नका निम्ति अधुरो क्रान्ति पुरा गर्नुपर्ने र त्यसका निम्ति सबै उत्पीडित वर्ग – समुदाय एक भएर लड्नुपर्ने बताए । भेला कुमाल मुक्ति मोर्चा नेपालका पाल्पा जिल्ला नेता धन बहादुर कुमालको अध्यक्षतामा सम्पन्न भयो ।

त्यसैगरी तिनाउ वडा नम्बर २ को भेलाका प्रमुख अतिथि नेकपाका पाल्पा जिल्ला सचिवालय सदस्य निशान बिकले सबै जाती र वर्गको मुक्तिका निम्ति निर्णायक संघर्ष गर्नुपर्ने कुरा बताए । राष्ट्रियताको लडाइमा सबै एक भएर लडनुपर्ने कुरा बिकले बताए । नेकपा जिल्ला सदस्य तथा तिनाउ गाउँ कमिटी इन्चाई राजिव भट्टराइले स्थानीय स्तरमा भइरहेको अनियमितता र अन्यायका विरुद्ध सशक्त संघर्षका निम्ति भेलामा उपस्थित सबैलाई आग्रह गरे ।

भेलामा युवा संगठन नेपाल पाल्पाका इन्चार्ज लिला सारु र संगठन कै तिनाउ गाउँ कमिटी अध्यक्ष टेकम दर्लामीले भ्रष्टाचार एवम् स्थानीय सरकारले गर्दै आएको बेथितिका विरुद्ध युवा संगठनले सशक्त भण्डाफोर अभियान सञ्चालन गर्ने बताए । भेला नेकपाका जिल्ला सल्लाहकार तथा स्थानीय कम्युनिष्ट अग्रज नेता टोप बहादुर विकको अध्यक्षता र नेकपाका स्थानीय नेता मदन खड्काको सञ्चालनमा सम्पन्न भयो । भेलाले संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी, पाल्पाले जिल्लाको १० वटै गाउँपालिका र वडाहरुको भेला, सम्मेलन साउन अन्तिमसम्म सम्पन्न गरिसक्ने कार्यक्रम रहेको कुरा जिल्ला सेक्रेटरी मिन बहादुर आलेले बताए । त्यसैगरी भदौ १० गते पार्टीको पाल्पा जिल्ला सम्मेलन गर्ने पनि आलेले बताए । असोज १ गते काठमाण्डौमा हुने नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशन उन्मुख राजनैतिक, सांगठनिक, आर्थिक लगायत अभियान पाल्पामा सशक्त रूपमा सञ्चालन भइरहेको जानकारी समेत सेक्रेटरी आलेले दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation