युवा संगठनले बुझायो तिनाउलाई ध्यानाकर्षण पत्र

पाल्पा । तिनाउ गाउँपालिका कार्यालयलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपालले आज ध्यानाकर्षण पत्र बुझाएको छ । संगठनका गाउँ कमिटी अध्यक्ष टेकम दर्लामीद्वारा हस्ताक्षरित पत्रमा १८ बुँदा समावेश गरिएको छ । पालिका अध्यक्ष, उपाध्यक्ष  र प्रमुख प्रशासकीय अधिकृतलाई संयुक्त रुपमा बुझाइएको पत्रमा स्थानीय जनतन्त्र र जनजीविका सम्बन्धि विषयहरु उल्लेख गरिएको छ ।  

स्थानीय स्तरमा सरोकारवालाहरुलाई मतलब नगरी पालिकाले मनोमानीका साथ कार्यक्रमहरु अगाडि बढाइरहेको, कृषिजन्य उत्पादनहरुमा विचौलियाको कारण कृषकहरु मर्कामा परेको, प्राकृतिक श्रोत साधनको सदुपयोग गर्नमा पालिकाले ध्यान नदिएको, कमिसनको खेल चलिरहेको लगायत विषय पत्रमा समावेश गरिएको छ । कर्मचारी नियुक्ति गर्दा सेटिङ्गमार्फत गर्ने गरेको, लक्षित समूह र उपभोक्ता समितिहरु गठन गर्दा कार्यकर्तालाई प्राथमिकता दिएको, योजनाहरु बाँडफाँड गर्दा मतदातालाई मात्रै प्रश्रय दिएको लगायत विषय पत्रमा उल्लेख गरिएको छ । संगठनले पाल्पाली जनताको सवालमा पाल्पा जिल्लाको सबै निकायमा पनि अध्ययन, अनुगमन र खबरदारी गर्ने निर्णय गरेबमोजिम तिनाउ गाउँपालिकाको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको जानकारी संगठनका जिल्ला इन्चार्ज लिला सारुले दिए । पत्रमा उठाइएका विषयहरु एक हप्ता भित्र जनतालाई चित्तबुझ्दो समाधान दिनका निम्ति संगठनद्वारा आग्रह समेत गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation