श्रमिक समुदाय मोर्चा रुपन्देहीले बुझायो सिडियोलाई ज्ञापनपत्र

रुपन्देही । श्रमिक समुदाय मोर्चा नेपाल, लुम्बिनी प्रदेश समन्वय समिति अन्तर्गत रुपन्देही जिल्ला कमिटीले आज रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा दलित/श्रमिक समुदायका अपमानजनक नाम/थरहरु कानुनले व्यवस्था गरेअनुसार सच्याउन माग गरिएको छ ।

प्रदेश संयोजक टिकाराम नेपालीद्वारा हस्ताक्षरित ज्ञापनपत्र बुझाउने क्रममा मोर्चाका केन्द्रीय कोषाध्यक्ष जानकी बराह, केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष सरिता बराह लगायत मोर्चाका जिल्ला सदस्यहरुको सहभागिता रहेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट श्रमिक समुदाय मोर्चा नेपालले अपमानजनक नाम/थर सच्याउनका निम्ति सशक्त अभियान चलाउने घोषणा गरेको बताइएको छ । सोही अनुरुप मोर्चा, गण्डकी प्रदेश समन्वय समितिले असार १७ गते कास्की प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइसकेको छ ।

अपमानजनक नाम र थरहरु सच्याउन सरोकारवालाहरुले माग गरिरहेका छन् । साउन १७ गते नेकपा (माओवादी केन्द्र) का सांसद भुवन बहादुर सुनार लगायतले दलित समुदायका व्यक्तिहरूको नागरिकतामा अपमानपूर्वक राखिएको नामहरु सच्याउन माग गरेका छन् ।

दलित/श्रमिक समुदायको अपमानजनक शब्द (नाम र थर) सच्याउन गृह मन्त्रालयले साउन २३ गते विज्ञप्तिमार्फत निर्देशन दिईसकेको छ । गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउनु भनिएको छ ।

विभिन्न माध्यमबाट दलित/श्रमिक समुदायको अपमानजनक नाम र थर सच्याउन दवाब बढेपछि गृहले उक्त विज्ञप्ति जारी गर्दै सो निर्देशन दिएको हो । अहिले विभिन्न जिल्लामा नागरिकता प्रमाणपत्रमा रहेको अपमानजनक नाम/थर सच्याउने कार्य समेत अघि बढिरहेको छ।

ज्ञापनपत्रको पूर्णपाठ यसप्रकार रहेको छ :
श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यू,
जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा ।
विषय ज्ञापन पत्र सम्बन्धमा ।

महोदय,
नेपालको कुल जनसंख्याको करिव पाँचौं हिस्सामा रहेका उत्पीडित श्रमिक समुदाय नेपाली समाजमा आज पर्यन्त शोषण, उत्पीडन तथा विभेदमा रहेका छन् । राजनीतिक, आर्थिक र सांस्कृतिक रूपमा राज्यद्वारा नै हजारौं वर्ष देखि पछाडि पारिएका यस समुदायको समग्र मुक्ति हुन अझै बाँकि छ । हाम्रो मोर्चा यस समुदायको समग्र मुक्तिको दिशामा संघर्षरत रहँदै आएको छ ।

• संवैधानिक तथा कानुनी उपचार एवं पूर्ण समानूपातिक प्रतिनिधित्वका लागि राज्यव्यवस्थामा आमूल परिवर्तन, यस समुदायको आर्थिक हैसियतमा विकास, यस समुदायका व्यक्तिहरूको चौतर्फी नेतृत्व निर्माण र वैज्ञानिक विचार – संस्कृति निर्माणका लागि जागरण अभियान सञ्चालन गर्नु यस समुदायको मुक्तिका लागि गर्नै पर्ने प्रमुख कामहरू हुन् ।

यो समुदाय माथिको विभेद एवं छुवाछूत, मानव जातिको उत्पत्तिको शुरुवातमा अस्तित्वमा नरहेको र पछि शासकहरूको ‘फुटाउ र शासन गर’ भन्ने नीति अन्तर्गत निर्माण गरिएको जगजाहेर छ । यो समुदायलाई कथित तल्लो जातमा परिणत गर्न वा अपमानित गर्न अपनाइएका विविध तरिका मध्य अमिल्दो र अपमानजनक थर’ एक हो ।

विगतमा यो समुदायका मानिसहरूलाई उनीहरूको आफ्नो जातिगत थर लेख्न नदिएर अपमानजनक थरहरू लेख्न बाध्य पारिदै आइएको सर्वविदितै छ । यस सन्दर्भमा नेपाल सरकार, राष्ट्रिय दलित आयोगले थर सूचिकरण गरेको छ। गृह मन्त्रालयले थर सच्याउन आएमा सच्याउन सहयोग गर्ने भन्ने परिपत्र जारी गरेको छ । साथै सुदूर पश्चिम क्षेत्रको हकमा सर्वोच्च अदालतले थर सच्याउने बारे एउटा आदेश जारी गरेको छ ।

यावत सबै तथ्यको आधारमा यस समुदायका व्यक्तिहरूको इच्छा अनुसार उनीहरूको थर सच्याउन सहयोग गर्ने निर्णय अनुसार हाम्रो मोर्चाले थर सच्याउने अभियान अघि बढाएको छ । तसर्थ, व्यक्तिको पुरानो नागरिकतामा रहेको अपमानजनक र अमिल्दो थर सच्याई आफ्नो जातिगत थर राखेर नागरिकता बनाउन र नयाँ नागरिकता बनाउँदा पनि सोही अनुसार गर्न गराउन सहयोग गरिदिन हुन हामी प्रमुख जिल्ला अधिकारी ज्यूलाई हार्दिक अनुरोध गर्दछौं ।
धन्यवाद !
मिति: २०७९/०५/५
टिकाराम नेपाली
संयोजक
लुम्बिनी प्रदेश समन्वय समिति

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation