प्रगतिशील संस्कार – संस्कृतिको विकास गर्नुपर्ने

पाल्पा । नेपाल कम्युनिस्ट पार्टी, तिनाउ गाउँ कमिटीले आज दोभानमा शुभकामना आदान – प्रदान कार्यक्रम सम्पन्न गरेको छ । असोज २५ गते देखि कपिलवस्तुमा हुने पार्टीको नवौं महाधिवेशनको अवसरमा आयोजित उक्त कार्यक्रममा स्थानीय स्तरका सुझाव – सल्लाह समेत संकलन गरिएको छ ।

असोज १ गते काठमाडौंमा उद्घाटन गर्नेगरी तयारी भएको महाधिवेशन राज्यले ३ बुँदे सहमति बमोजिम झुठा मुद्दाहरु खारेज नगरेको साथै चाडपर्वको समय पनि सुरु भइसकेको लगायत कारणले गर्दा स्थान र समय सार्नुपरेको कुरा प्रमुख अतिथि नेकपा, पाल्पा जिल्ला सेक्रेटरी मीन आलेले स्पष्ट पारे । चाडपर्वहरु सरल र सभ्य किसिमले मनाउन र समाजवादी संस्कृतिमा जोड दिनका निम्ति आग्रह गर्दै आलेले सबैलाई शुभकामना समेत दिए ।

कार्यक्रमका अतिथि नेकपा, पाल्पा जिल्ला सचिवालय सदस्य निशान बिकले बुर्जुवा संस्कार – संस्कृतिले नेपाली समाजलाई यथास्थिति मै गाँजिरहेको हुँदा प्रगतिशील संस्कार – संस्कृतिको विकास गर्दै जानुपर्नेमा जोड दिए । राज्य व्यवस्था नै रुढीवादी किसिमको भएका कारण व्यवस्था बदलेर मात्रै सम्मुनत र सभ्य समाज बनाउन सकिने कुरा बिकले स्पष्ट पारे ।

कार्यक्रममा नेकपा तिनाउ इन्चार्ज राजिव भट्टराई, जिल्ला सल्लाहकार टोपबहादुर बिक लगायतले शुभकामना मन्तव्य तथा सुझाव राखेका थिए । नेकपा तिनाउ सेक्रेटरी भानु दर्लामीको अध्यक्षता र विशेष सदस्य भीषणको सञ्चालनमा कार्यक्रम सम्पन्न भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation