नेकपाको नवौं महाधिवेशन सम्पन्न

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशन मङ्गलबार कपिलवस्तुमा सम्पन्न भएको छ । महाधिवेशन विप्लवको नेतृत्वमा ८१ जनाको केन्द्रीय कमिटी निर्वाचित गरेको छ । ४५ जना वैकल्पिक केन्द्रीय समिति, १३९ जनाको केन्द्रीय प्रतिनिधि समिति र ८ जनाको सल्लाहकार समिति पनि महाधिवेशनले निर्वाचित गरेको छ ।

असोज २५ देखि सुरु भएको महाधिवेशनले वैचारिक, अर्थ राजनैतिक, सांगठनिक र सांस्कृतिक रुपमा नयाँ अवधरणाहरु अघि सारेको छ । मालेमावादी विचार – दर्शनलाई २१ औं शताब्दीमा रक्षा र थप विकास गर्नुपर्ने भएकोले महाधिवेशनले ‘अनिश्चय, रक्षा र रुपान्तरणको सिद्धान्त’ संष्लेषण गरेको केन्द्रीय सदस्य रामलाल विश्वकर्माले बताएका छन् ।

अर्थ राजनैतिक क्षेत्रमा ‘ कम्युनिस्ट एकीकृत अर्थ प्रणाली’को अवधारणा महाधिवेशनले पारित गरेको छ । सांगठनिक क्षेत्रमा लेनिनवादी संगठन प्रणालीलाई विकास गर्नको लागि ‘एकीकृत संगठन प्रलागी’को नीति पारित गरिएको छ । परम्परागत संस्कार – संस्कृतिको सट्टामा समाजवादी संस्कार – संस्कृतिलाई प्रयोग गर्दै जानुपर्ने नीति महाधिवेशनले पारित गरेको छ ।

भूमण्डलीकृत पुँजीवादले उत्पीडित राष्ट्र र जनतामाथि प्रभुत्व कायम गर्नका लागि अनुदान र परियोजनालाई माध्यम बनाएर अगाडि बढिरहेको बेलामा विश्वका कम्युनिस्ट शक्तिहरु एकीकृत ढंगले अघि बढ्नुपर्ने महासचिव विप्लवले बताएका छन् ।

महासचिव विप्लवले नेकपाले अवलम्बन गरेको ‘एकीकृत जनक्रान्ति’ क्रान्ति पूरा गर्ने हतियार भएको बताएका छन् । आईतवार बन्दसत्रमा छलफल समूहका नेताहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिंदै विप्लवले सो कुरा  बताएका हुन् । उनले अहिलेको भुमण्डलीकृत पूँजीवाद र दलाल संसदीय व्यवस्थाका विरुद्ध जनताको वैज्ञानिक समाजवाद ल्याउन एकीकृत जनक्रान्तिको हतियारले महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation