नेकपा, पाल्पाको चौथो बैठक सम्पन्न ‘चुनाव खारेज अभियान’ सञ्चालन गर्ने

पाल्पा । नेपाल कम्युनिस्ट पार्टी, पाल्पाको चौथो पूर्ण बैठक शनिवार तानसेनमा सम्पन्न भएको छ । जिल्ला सेक्रेटरी मीन बहादुर सीको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको छ । संसदीय व्यवस्थाले देश र जनताको मुक्ति गर्न नसक्ने भएकोले यो सत्ताले गर्न लागेको मंसिर ४ गतेको चुनावलाई खारेज गर्ने निर्णय बैठकले गरेको कुरा सेक्रेटरीले बताए  ।
संसदीय व्यवस्थाको भण्डाफोर गर्दै वैज्ञानिक समाजवाद स्थापनाको अपरिहार्यता बारे जिल्लामा सशक्त अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । संगठन सुदृढ तथा बिस्तार अभियानलाई समेत एकसाथ अगाडि बढाउने निर्णय बैठकले गरेको कुरा सेक्रेटरी मीन बहादुर सीले बताए ।

कार्तिक १ गते कपिलवस्तुमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनले पारित गरेको कार्यदिशा, रणनीति एवम्  कार्यनीति बारेमा बैठकका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज अपेक्षा सीले सबिस्तार प्रशिक्षण दिए । विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ विचार – दर्शनको विकास गर्न र नेपाली क्रान्तिलाई सम्पन्न गर्नको निम्ति एकीकृत जनक्रान्तिको कार्यदिशालाई विकास गर्नको निम्ति महाधिवेशनले महत्त्वपूर्ण भूमिका खेलेको कुरा इन्चार्ज अपेक्षा सीले बैठकमा स्पष्ट गरे ।

महाधिवेशनको योजनालाई कार्यान्वयन गर्नका निम्ति सबैले सशक्त भूमिका खेल्नका निम्ति इन्चार्जले निर्देशन दिए । महाधिवेशनले जातिको अन्त्य गर्नका निम्ति नामको पछाडि साम्यवादी लेख्ने र बुर्जुवा समाजको अन्त्यका निम्ति कम्युनिस्ट संस्कार – संस्कृति प्रयोग गर्दै जानुपर्ने इन्चार्जले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation