तिम्रो यादको विमोचन सम्पन्न

बुटवल । गायक तथा संगीतकार सौगात सायरको स्वर र एरेन्जमा रहेको तिम्रो याद बोलको आधुनिक गीत आज सार्वजनिक भएको छ । बुटवल स्थित न्यु इरा होटेलमा आयोजित विमोचन कार्यक्रममार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।  कार्यक्रमका प्रमुख अतिथि रुपन्देही क्षेत्र नं २ बाट निर्वाचित लुम्बिनी प्रदेश सदस्य भोज प्रसाद श्रेष्ठले सो गीतको विमोचन गरेका छन् । 

पहिलो प्रेमीसंग विवाह नभई दोश्रो पुरुषसंग विवाह हुन पुगेको तर सम्बन्ध सुमधुर हुन नसकेको र युवतीले चरम हिंसा भोग्नुपरेका कारण आत्महत्या गर्न बाध्य भएको वास्तविक घटनालाई उक्त म्युजिक भिडियोमा सजीव चित्रण गरिएको छ ।

सामाजिक घटनालाई म्युजिक भिडियोमा यथार्थ रूपमा प्रस्तुत गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले निर्माण टिमलाई धन्यवाद दिए । पूर्व गायक तथा धार्मिक व्यक्तित्व ॠषि न्यौपानेले सौगात सायरको टिमलाई सह्राना गर्दै गीत संगीतको क्षेत्रमा अझै अघि बढ्नका निम्ति सुझावसहित शुभकामना दिए । 

साहित्यकार रुद्र ज्ञावालीले सो गीतको शब्दहरुमा सुझाव दिँदै आगामी दिनमा अझै प्रगतिको शुभकामना दिए । संगीतकार सुरेश सेन्चुरीले मोफसलमा बनाइएको उक्त गीत अन्य गीत भन्दा कम नरहेको धारणा व्यक्त गरे । 

चलचित्र छाँयाकार तथा निर्देशक मनिष पन्थले कम लगानी मै बनाइएको सो म्युजिक भिडियो लाखौं खर्चेर बनाइएका म्युजिक भिडियो भन्दा राम्रो रहेको कुरा बताए । सामाजिक गीतकार निशान बिकको सञ्चालन र सौगात सायरकी आमा विष्णुदेवी सुनारको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, पूर्व अध्यक्ष शेर ब.केसी, चलचित्र पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठ, लगायत दर्जनौं पत्रकारहरुको उपस्थिति रहेको थियो । 

उक्त गीतको म्युजिक भिडियोमा सौगात सायर, करिष्मा ढकाल र विष्णु भट्टराईको मुख्य अभिनय रहेको छ । सहायक भूमिकामा अर्जुन खनाल लगायत रहेका छन् । विष्णु भट्टराईले छायाँङ्कन तथा सम्पादन गरेको उक्त म्युजिक भिडियो आर.बि.बादल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतको शब्द सिर्जना पम्फा बञ्जाडे र संगीत आर.बि.बादलले गरेका हुन । निर्माता समेत रहेका बादल वैदेशिक रोजगारीको शिलशिलामा हाल जापानमा रहेका छन् ।  पूरा गीतको लागि युट्युव लिङ्क यहाँ छ : https://youtu.be/KjB0iv7DP6I

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation