प्रचण्ड प्रधानमन्त्री बने तर माओको सिद्धान्त बिर्सिए

पाल्पा : नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले प्रचण्डले माओवाद सिद्धान्त बिर्सिएको बताएका छन् । महासचिव विप्लवले आज प्रधानमन्त्री पदको सपथ लिएका प्रचण्डले माओवादलाई कहिल्यै आत्मसात नगरको बताए । महासचिव विप्लवले एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्ड एकै प्रवृतिको भएको दाबी गरे ।

नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालय, कपिलवस्तुले शिवगढिमा आयोजना गरेको १३० औँ माओ दिवसलाई सम्बोधन गर्दै महासचिव विप्लवले नेपालमा एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न सबै कम्युनिष्ट एकजुट हुन आग्रह गरे ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले काठमाडौँ महानगरका मेयर बालेन शाहले सुकुम्बासीलाई दु:ख दिएकाले बालेन विरुद्ध सडकमा उत्रिन निर्देशन दिए ।

नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष ऋषि कट्टेलले माओलाई हरेक दिन सम्झाना गर्नुपर्ने बताए । माओत्सेतुङ्गले चिनियाँ क्रान्तिबाट ल्याएको परिवर्तन जस्तै नेपालमा माओको विचार मान्नेहरु अब क्रान्तिको पक्षमा लाग्नुपर्ने अध्यक्ष कट्टेलले बताए । उत्पीडित समुदायलाई राज्यसत्तामा पुर्‍याई उनीहरुको जीवनस्तर अघि बढाउन माओका विचार अनुसार लाग्नुपर्नेमा जाेड दिए । नेपालमा क्रान्तिको मोडल परिवर्तन गरी सबै कम्युनिस्ट एकजुट हुनुपर्नेमा समेत उनले जोड दिए ।

कार्यक्रममा वैज्ञनिक समाजवादी पार्टीका महासचिव आहुतीले नेपालका कम्युनिष्टहरु चिनिया जस्तै अग्रसर हुनुपर्ने बताए । चीनियाहरु क्रान्तिबाट सफल भएकाले नेपालका सबै मजदुर, किसानहरुले क्रान्तिलाई साथ दिनुपर्ने जानकारी दिए । माओका तीन हतियार जस्तै पार्टी, सेना र संयुक्त मोर्चाको सिद्धान्त अनुसार नेपाली कम्युनिस्टहरु अघि बढ्नु पर्ने आहुतीले बताए । क्रान्ति सफल बनाउनका लागि सबै उत्पीडित समुदाय एक जुट हुनुपर्नेममा जाेड दिए ।

नेकपा समाजवादी माओवादी केन्द्रका अध्यक्ष कर्णजित बुढाथोकी (सुनिल) ले प्रचण्डले क्रान्तिको बाटो बिर्सेको बताए । प्रचण्डको सत्तालिप्त अभ्यासले माओवादी बदनाम भएको बताए । अबको यात्रामा माओवादीहरु नयाँ रणनीति अनुसार अघि बढ्नुपर्ने कुरामा सुनिलले जाेड दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation