लोकमार्गले उठीबास लगाउने भन्दै प्रदर्शन

काठमाण्डौ । पुष्पलाल (मध्यपहाडी लोकमार्ग) विस्तार गर्दा आफूहरूको उठीबास हुने भन्दै बसन्तपुर बजारबासीले बिहीवार विरोध प्रदर्शन गरेका छन् । बजारबाट लोकमार्ग निर्माण हुँदा आफूहरूले बसोबास गरिरहेको घर घडेरीमा क्षति पुग्ने भन्दै बजारवासीले लोकमार्ग अन्यत्रबाट लैजान माग गर्दै आन्दोलन गरेका हुन् ।

नेपाल–भारत सीमा पाँचथरको चियोभन्ज्याङदेखि बैतडीको झुलाघाट जोड्ने पहाडै पहाड भएर निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग निर्माणको काम म्याङलुङ हुँदै बसन्तपुर बजारसम्म आइपुगेको छ । बजार क्षेत्र प्रवेश गर्ने चरणमा रहेको लोकमार्गको सर्भेको काम सम्पन्न भएर प्रारम्भिक वातावरणीय अध्ययनको काम सुरु गर्ने तयारी भइरहेका बेला केही बजारवासीले विरोध जनाएर प्रदर्शन गरेका हुन् ।

बजारको बिचबाट लोकमार्ग निर्माण हुँदा यसअघि निर्माण भइसकेका घर भत्काउनुपर्ने अवस्था आउने र आफूहरू घरबारविहीन हुने भन्दै बजारवासीले लोकमार्ग निर्माणस्थलको विकल्प खोजेका हुन् ।

बिचबजारबाट लोकमार्ग निर्माण हुँदा मुख्य चोकको घर भत्काउनुपर्ने र आफूहरूको धेरै नोक्सान हुने भन्दै विरोधमा उत्रिएका स्थानीय चुडामणि अधिकारीले बताए । लोकमार्ग बजार क्षेत्रभन्दा दायाँबायाँ गरेर निर्माण गर्नुपर्ने माग आफूहरूको रहेको अधिकारीको भनाइ छ । बिचबजारबाट लोकमार्ग विस्तार भएर बजार क्षेत्रका १ सयभन्दा बढी घरको अगाडिको भाग काट्न खोजेको भन्दै आफूहरू विरोधमा उत्रिएको स्थानीयको भनाइ छ ।

बजारवासीले लोकमार्ग विस्तार गर्दा बजार क्षेत्रका घरमा क्षति नपुर्‍याई विस्तार गर्नुपर्ने वा हाल कायम रहेको सडकलाई नै प्रयोगमा ल्याउनुपर्ने आफूहरूको माग रहेको उद्योग वाणिज्य संघ उपशाखाका अध्यक्षसमेत रहेको स्थानीय रोशन सुवेदीले बताए ।

बजार क्षेत्रभित्र कति मिटर सडक कायम हुने भन्ने आधिकारिक जानकारीसमेत लोकमार्ग आयोजना पक्षले आफूहरूलाई नदिएको स्थानीयको दाबी छ ।

पुष्पलाल (मध्यपहाडी लोकमार्ग) योजना कार्यालय पाँचथरले भने यसअघि नै सम्बन्धित क्षेत्रका प्रभावित बासिन्दा र जनप्रतिनिधिसँग पटक–पटक छलफल गरेर काम अघि बढाएको जनाएको छ । योजना प्रमुख अर्जुनकुमार बमले बजार क्षेत्रको छोटो दुरीमा मात्र केही घरमा न्यून क्षति पुग्ने र त्यसका लागि योजना कार्यालयले क्षतिपूर्तिको व्यवस्था पनि गरेको बताए ।

योजना प्रमुख बमका अनुसार बजार क्षेत्रमा ११ देखि १२ मिटरको चौडा सडक हुनेछ । यसअघि बजार क्षेत्रमा निर्माण भएको अधिकांश सडक ९ देखि १० मिटरसम्मको रहेको र थोरैमात्र सडक विस्तार गर्दा हालका लागि सडक पुग्ने योजना प्रमुख बमले बताए । स्थानीयको माग अनुसार लोकमार्ग अन्यत्र स्थान बाट लैजान सम्भव नहुने र बिचबजारबाटै जाने बमको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation