मोर्चाको बैठक सम्पन्न, विभेदविरुद्ध संघर्ष गर्ने

मोर्चाले सशक्त संघर्ष गर्ने
सुनसरी । नेपाल कम्युनिस्ट पार्टी निकट श्रमिक समुदाय मोर्चा, नेपालले छुवाछूत र विभेद विरुद्ध सशक्त संघर्ष गर्ने बताइएको छ । मोर्चा केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो । धरानमा ३ र ४ गते बसेको बैठकले देशभर संघर्षको अभियान सञ्चालन गर्ने योजना बनाएको कुरा मोर्चाका अध्यक्ष रामलाल सी. ले बताए ।

संघर्षको ६ महिने अभियानका क्रममा श्रमिक (दलित) समुदायको अपमानजनक नाम, थर परिवर्तन कार्यलाई तीव्रता दिने बताइएको छ । श्रमिक समुदायको लागि राज्यले अगाडि सारेको सेवा – सुविधा हिनामिना र अनियमितता हुन नदिनको निम्ति जागरणमूलक कार्यक्रमहरु देशभर सञ्चालन गर्ने योजना बैठकले बनाएको छ ।

जनजीविकाको सन्दर्भमा लघुवित्त र मिटर ब्याजीका कारण देशभर विशेषगरी श्रमिक समुदायहरु घरबारविहिन हुने अवस्था सिर्जना हुँदै गएकोले संघर्ष गर्नुपर्ने ठहर गर्दै बैठकले निर्णय गरेको छ । अहिलेको २१औं शताब्दीमा पनि दिन प्रतिदिन जातीय विभेद र हिंसाका घटनाहरु बढ्दै गएकोले न्यायका निम्ति सशक्त प्रतिकारमा उत्रिने निर्णय बैठकले गरेको छ ।

बैठकले देशभरका २१ वटा नयाँ ब्युरो संरचना निर्माण गरी इन्चार्ज र संयोजकहरु समेत तोकेको छ । जसअनुरुप मेची, कोशी, सगरमाथा ब्युरोमा मोर्चाका महासचिव त्रिलोचन सी, पूर्वी जनकपुर, पश्चिम जनकपुर ब्युरोमा सचिव रामकुमार सी, उपत्यका, पुर्वी तामसालिङ पश्चिम तामसालिङ ब्युरोमा सचिवालय सदस्य पदम सी, पूर्वी लुम्बिनी ब्युरोमा कोषाध्यक्ष जानकी सी, पश्चिम लुम्बिनी र राप्ती ब्युरोमा सचिवालय सदस्य टिकाराम सी र गण्डक, धौलागिरी, नारायणी, कर्णाली, सेती महाकाली ब्युरोमा सचिव उमेश सी इन्चार्ज रहने निर्णय गरिएको छ । सोही अनुसार संयोजकहरु समेत तोकिएको छ ।

बैठकले विभिन्न जिल्लाका ८ जनालाई केन्द्रीय सदस्यमा थप गरेको छ । देशभर वडा र टोलस्तरसम्म कमिटी निर्माण गर्ने र सदस्यता थप एवम् नविकरण गर्ने कार्य ६ महिनाभित्र सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ । मोर्चालाई आत्मनिर्भर बनाउनका निम्ति सबै ब्युरोमा मोर्चाले उत्पादनको कार्य अनिवार्य रुपमा सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

अहिलेको दलाल संसदीय सत्ताले उत्पीडित जाति, वर्गको मुक्तिका निम्ति कुनै काम गर्न नसक्ने हुँदा व्यवस्था बदल्नुपर्ने अपरिहार्य आवश्यक रहेकोले क्रान्तिमा सक्रिय सहभागी हुन बैठकका प्रमुख अतिथि नेकपाका पोलिट ब्युरो सदस्य दिपेश सी ले बैठकमा उपस्थित सबैलाई आव्हान गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation