स्कटल्यान्डका खेलाडीले नेपालका लेग स्पिनर सन्दीप लामिछानेसँग हात मिलाएनन्

सुनसरी । आइसिसी विश्वकप लिग-२ को शीर्ष टिम स्कटल्यान्डलाई नेपालले शुक्रबार ३ विकेटले पराजित गर्‍यो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गरेको थियो।

खेल सकिएपछि बलिङ गरिरहेको टिमका खेलाडी जम्मा भएर मैदानबाट पेभेलिएनतर्फ जाने र ब्याटिङ गरिरहेको टिमका खेलाडी पेभेलिएनबाट मैदानतर्फ जाने गर्छन्।

त्योबीचमा दुवै टिमका खेलाडी हात मिलाएर एकअर्कालाई सम्मान प्रकट गर्छन्। तर शुक्रबार स्कटल्यान्डका खेलाडीले नेपालका लेग स्पिनर सन्दीप लामिछानेसँग भने हात मिलाएनन्।

अन्तिममा रहेका सन्दीपसँग हात नमिलाए पनि स्कटल्यान्डका खेलाडीले अरु नेपाली खेलाडीसँग भने हात मिलाएका थिए।

बलात्कारको अभियोगका बीच टिममा फर्किएका सन्दीपको विषयमा यसअघि क्रिकेट स्कटल्यान्डलाई प्रश्न गरिएको थियो। जसमा क्रिकेट स्कटल्यान्डले आफूहरु सन्दीपको कानुनी स्थितिबारे जानकार रहेको बताएको थियो। साथै सबै खालको दुर्व्यवहारविरुद्ध क्रिकेट स्कटल्यान्ड रहेको उसको प्रतिक्रिया थियो।

सन्दीपमाथि नाबालिक बलात्कारको अभियोगको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधिन छ।

यसअघि नामिबियाका खेलाडीले भने मंगलबार भएको खेलमा सन्दीपसँग हात मिलाएका थिए।

 

लिग-२ को शीर्ष टिम स्कटल्याण्डमाथि नेपालको जित

आइसिसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डलाई नेपालले ३ विकेटले पराजित गरेको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गर्‍यो।

नेपालको जितमा दिपेन्द्रसिंह ऐरी र कुशल मल्लले अर्धशतक प्रहार गरे।

कुशलले ८१ रनको योगदान गरे। उनले ६७ बलमा ९ चौका र ४ छक्का प्रहार गरे। कुशलले एकदिवसीय खेलमा दोस्रो अर्धशतक प्रहार गरेका हुन्। यसअघि उनले लिग-२ कै खेलमा अमेरिकाविरुद्ध अर्धशतक प्रहार गरेका थिए।

दिपेन्द्रसिंह ऐरीले नटआउट ८५ रन जोडे। उनले ११६ बलमा ८ चौका र १ छक्का हिर्काए।

कुशल र दिपेन्द्रबीच छैटौं विकेटका लागि सय रनको साझेदारी भएको थियो। यहि साझेदारी नेपालको जितको आधार बन्यो।

नेपालका लागि विजयी चौका हिर्काएका सोमपाल कामीले नटआउट २४ रन जोडे। उनले ३२ बलमा ३ चौका प्रहार गरे।

ओपनर कुशल भुर्तेल १६ रन बनाएर तेस्रो ओभरमा, ज्ञानेन्द्र मल्ल ४ रनमा सोही ओभरमा र आसिफ शेख पाँचौ ओभरमा ९ रन बनाएर आउट हुँदा नेपालले पाँच ओभरमा तीन विकेट गुमायो। तीनै जनालाई स्कटल्यान्डका क्रिस सोलले क्याच आउट गरे। उनले पहिलो ओभरमा २३ रन खर्चिए पनि त्यसपछि उत्कृष्ट बलिङ गरेका थिए।

यस्तै नेपालका कप्तान रोहित पौडेल ६ रन तथा सन्दीप जोरा ५ रन जोडेर आउट भए। दुवैलाई स्कटल्यान्डका मार्क वाटले आउट गरे। गुल्शन झाले २८ बल खेलेर १७ रन जोडेका थिए।

बलिङमा स्कटल्यान्डका क्रिस सोल र मार्क वाटले ३-३ विकेट लिए।

त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ९ विकेटको २७४ रन जोड्यो।

स्कटल्यान्डका लागि माइकल लेस्कले शतक प्रहार गरे। पहिलो एकदिवसीय शतक प्रहार गरेका उनले ८५ बलमा नटआउट १०७ रन जोडे।

स्कटल्यान्डका ओपनरद्वय क्रिस्टोफर म्याकब्राइडले २२ रन र रिची बेरिङटनले १९ रन जोडे। दुवैलाई कुशल मल्लले क्याच आउट गराएका थिए।

टोमस म्याकिङटोस १९ रन, म्याथ्यु क्रस २ रन र ब्रेन्डन म्याकुलम २२ रनमा आउट भए। तीनै जनालाई सन्दीप लामिछानेले आउट गरे।

क्रिस ग्रेभ्सलाई १६ रन बनाएर खेलिरहदा कुशल भुर्तेलले विकेटकिपर आसिफ शेखबाट क्याच गराए। यस्तै ज्याक जर्भिसलाई दिपेन्द्रसिंह ऐरीले २६ रनमा बोल्ड गरे। मार्क वाट २० रनमा रनआउट भए।

बलिङमा नेपालका सन्दीप लामिछानले तीन विकेट लिए। उनले १० ओभरमा २७ रन दिए। कुशल मल्लले दुई विकेट लिए भने सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक-एक विकेट हात पारे।

सिरिजमा यसअघि दुवै टिमले पहिलो खेलमा जित हात पारेका थिए। दुवैले नामिबियालाई पराजित गरेका थिए।

सिरिजमा नेपालले भोलि आफ्नो तेस्रो खेलमा नामिबिया र मंगलबार अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्नेछ।

लिग-२ मा स्कटल्यान्ड च्याम्पियन भइसकेको छ। लिग-२ को शीर्ष टिम स्कटल्यान्डले ३४ खेलबाट ४८ अंक जोडेको छ। दोस्रो स्थानको ओमानले आफ्ना सबै ३६ खेल खेल्दा ४४ अंक जोडेको छ। तेस्रो स्थानको नामिबियाले अन्तिम चार खेल बाँकी छदा ३७ अंक जोडेको छ। चौथो स्थानको अमेरिकाले सबै ३६ खेलबाट ३५ अंक जोडेको छ। यो अवस्थामा अब स्कटल्यान्डले बाँकी सबै खेल हारे पनि शीर्ष स्थान गुमाउने छैन।

लिग-२ मा नेपाल छैटौं स्थानमा छ। नेपालले लिग-२ मा आफ्ना १० खेल खेल्न बाँकी छदा २६ खेलबाट २२ अंक जोडेको छ। नेपालभन्दा माथि रहेको पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ। पुछारको पिएनजीको २८ खेलबाट ५ अंक मात्र छ।

 

लिग-२ का शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। बाँकी चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ।

लिग-२ बाट स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन्। अब बाँकी एक स्थानका लागि नामिबिया, नेपाल र युएईबीच प्रतिस्पर्धा छ। जसमा नामिबिया बलियो स्थानमा रहदा नेपाललाई शीर्ष तीनमा पर्न कठिन छ।

 

आइसिसीले क्रिकेट विश्वकप २०२३ को छनोटका लागि तीन वटा लिग गरिरहेको छ। जसमा टेस्ट मान्यता प्राप्त १२ टिम र नेदरल्यान्ड्स गरी १३ टिमबीच सुपर लिग, नेपालसहित सात एकदिवसीय मान्यता प्राप्त टिमबीच लिग-२ र एसोसिएट टिमबीच प्रतिस्पर्धा भएको च्यालेन्ज लिग रहेका छन्।

सुपर लिगबाट ७ टिम र आयोजक भारत गरी आठ टिम विश्वकप २०२३ मा पुग्नेछन्। अब दुई स्थानका लागि सुपर लिगका पाँच टिम, लिग-२ का तीन टिम र क्वालिफायर प्लेअफका दुई टिम गरी १० टिमबीच छनोट प्रतियोगिता हुँदैछ। क्वालिफायर प्लेअफमा लिग-२ का चार टिम र च्यालेन्ज लिगका दुई टिम गरी छ टिमबीच प्रतिस्पर्धा हुनेछ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation